देउवालाई सभापति जिताउने सर्तमा मोहन बस्नेतले दिए ‘बलिदान’, उठाए यस्तो कदम

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता बस्नेतले सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । नेता बस्नेतले खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

नेता बस्नेतले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

महाधिवेशनस्थल प्रदर्शनीमार्ग र भृकुटीमण्डपमा नेता बस्नेतको पक्षमा समर्थकहरूद्वारा प्रचार–प्रसार तीब्र रुपमा भएका छन् ।

नेता बस्नेतले सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएका थिए । पार्टीभित्रको आन्तरिक समीकरण मिलाउने क्रममा सभापतिमा शेरबहादुर देउवालाई विजयी बनाउने सर्तमा नेता बस्नेतले सदस्य पदमा मात्रै उम्मेदवारी दिएका हुन् ।

कांग्रेसका नेता कार्यकर्ताको संरक्षणमा जहिले पनि आफूलाई अग्रपंक्तिमा राख्दै आएका बस्नेतले राम्रो काम गरेकै कारण सभापति शेरबहादुर देउवाले पार्टीको विपत व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।

बस्नेतलाई खेलकुद विभागको प्रमुखदेखि कांग्रेसको १४औँ महाधिवेशनमा स्वास्थ्य समितिको जिम्मेवारी समेत दिइएको छ ।

महाधिवेशनमा नेता बस्नेतकै समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निःशुल्क मास्क, सेनिटाइजरलगायतका सामग्री वितरण गर्दै आएको छ ।

नेता बस्नेतले कोरोनाको परीक्षण गर्न चाहने महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डपमा रहेको स्वास्थ्य समितिको कार्यकक्षमा एन्टीजेन्ट परीक्षण पनि गराइदिने गरेका छन् ।

Published : Saturday, 2021 December 11, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया