कांग्रेसको केन्द्रीय सदस्यमा बजगाइँको फेरि जमानत जफ्त हुने, भृकुटीमण्डपतिर ‘पैसाको खोलो’ बग्यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका ‘क्यासिनो डन’ले परिचित राजेन्द्र बजगाइँले कांग्रेसको महाधिवेशन स्थलमा ‘पैसाको खोलो’ बगाएका छन् ।

बजागाइँको प्रचारका लागि भन्दै केही युवाहरूलाई सुन्तला रंगको ज्याकेट लगाएर घुमाएका थिए । प्रचारका लागि १५/२० जना युवाहरूलाई सुन्तला रंगको ज्याकेट लगाइदिएर बजगाइँले महाधिवेशनस्थलमा घुमाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित बनेर आएका बजगाइँले महाधिवेशनस्थल आसपासमा महँगा र भड्किला प्रचार सामग्रीहरू राखेका छन् । थापाथली, माइतीघर, बागबजार, पुतलीसडकसहितका मुख्य चोकहरूमा बजगाइँले आफ्ना प्रचार सामग्रीहरू राखेर मत मागेका छन् ।

१३औँ महाधिवेशनमा पनि बजगाइँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस बेला पनि करोडौँ रुपियाँ खर्च गरेको कांग्रेसभित्र चर्चा चलेको थियो । करोडौँ रुपियाँ खर्च गदा पनि बजगाइँको ‘जमानत जफ्त’ भएको थियो ।

कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका बजगाइँले कांग्रेसका ठूला नेतालाई मात्रै चिन्छन् । कार्यकर्तालाई चिन्दैनन् । बजगाइँले भृकुटी मण्डपमा नौटंकी देखाएको भनेर महाधिवेशन प्रतिनिधिहरू चकित परेका छन् ।

महँगो होटेल (रिसोर्ट)मा ती युवाहरूको फोटो खिचेर बजगाइँले तीन वटा फोटो आफ्नै फेसबुकमा समेत हालेका छन् । उनका यस्तै गतिविधिले गर्दा केन्द्रीय सदस्य पदमा जमानत जफ्त हुने भनेर महाविधेशनस्थलमा प्रतिनिधिहरूले हाँसोमजक गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

क्यासिनोमा जुवा खेलाएर अकुत सम्पत्ति कमाएका कांग्रेस नेता बजगाइँ महामन्त्री शशांक कोइराला निकटका हुन् । कोइरालाले बजगाइँलाई संरक्षण गर्दै आएका छन् ।

बजगाइँलाई संरक्षण गर्नेमा रक्षा मन्त्री समेत रहेका कांग्रेसका नेता मीनेन्द्र रिजाल पनि छन् ।

भोट माग्न केही धुपौरेहरूलाई काठमाडौंका महँगा होटेलहरूमा बजगाइँले राखेको चर्चा छ । बजगाइँको प्रचार प्रसारमा हिँडका समर्थकहरू पनि महँगा होटेलमा बस्ने र दारुसहित मिस्ठान्न परिकार खानेको गरेको शुक्रबार भृकुटीमण्डपमा कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले चर्चा गरेका थिए ।

Published : Friday, 2021 December 10, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया