ओलीको सातो लिएर चर्चित बनेका कांग्रेसका युवा नेता रसाइली कहाँ छन् ?
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका रसाइलीले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन् ।
उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर काम गर्ने योजनाका साथ उम्मेदवारी दिन लागेको बताएका छन् ।
नेता रसाइलीले कांग्रेसको समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि उनी आफ्नो प्रचार प्रसारमा जुटेका छन् ।
युवा नेता रसाइलीको गृहजिल्ला बझाङमा पर्छ । उनी बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
उनी नेपाल दलित संघको पूर्व महासचिव पनि हुन् । नेविसंघबाट पार्टीका राजनीतिमा प्रवेश गरेका रसाइली युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।
प्रतिनिधि सभाको बैठकमा झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध अभिव्यक्ति दिएर युवा नेता रसाइली चर्चामा आएका थिए ।
संसदको बैठकमा शून्य समय वा विशेष समय होस् रसाइलीले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको सातो लिएर हैरान बनाएका थिए ।
संसदमा सानै उमेरमा छिरेका प्रखर वक्ता रसाइलीको अभिव्यक्तिले कांग्रेसका नेता कार्यकर्ता मात्र नभइ कम्युनिस्टसँग आजित बनेका सर्वसाधारण समेत प्रभावित बनेका थिए ।
नेता रामचन्द्र पौडेल निकट मानिने रसाइलीको बोल्ने शैली र कलाका कारण सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक बालकृष्ण खाणसहितका नेताहरू समेत प्रभावित बनेका थिए । कम्युनिस्टविरुद्ध राम्रो बोलेका कारण संसदमा रसाइलीलाई शून्य र विशेष समयमा बोल्न समय दिने गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया