कांग्रेसका केन्द्रीय सदस्य गिरीद्वारा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता किरण गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन तयारी गरेका छन् ।

नेतृत्वको निर्देशन र विचार समूहका साथीहरूको सहमति भएमा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तय गरेको उनले बताएका छन् ।

आफ्नो ध्यान सभापतिमा शेरबहादुर देउवालाई जिताउन केन्द्रित रहेको जनाएका गिरीले सबैको आग्रहमा सदस्य पदमा उम्मेदवारी दिने बताए ।

देउवाले सभापतिमा पहिलो चरणमै ५६ प्रतिशतभन्दा धेरै मतसहित जिताउन सक्रिय रहेको उनले बताए ।

‘नेपाली कांग्रेसका सबै नेताहरूलाई आदर र सम्मान, १४औं महाधिवेशनमा केन्द्रीय सभापति पदमा शेरबहादुर देउवालाई नै गरौं मतदान’ भन्ने नारासहित गिरीले प्रचार अभियान चलाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिका सदस्य एवम् राजनीतिक विश्लेषकको क्षमता समेत राख्ने गिरी कांग्रेसका प्रखर वक्ता हुन् । उनी वरिष्ठ पत्रकार पनि हुन् ।

‘पार्टीलाई एकढिक्का बनाउन, अन्य पार्टीसँग विश्वासको वातावरण बनाउन र कांग्रेसको नेतृत्वमा मुलुक अगाडि बढाउन देउवाको आवश्यकता छ’, उनले भने, ‘केन्द्रीय पदाधिकारीमा युवा साथीहरू चाहिन्छन् ।’

उनले भने, ‘नेतृत्वमा भने देश, पार्टी र अन्य पार्टीका नेताले पनि पत्याउने नेतृत्व आउनुपर्छ ।’

‘तीन तहको निर्वाचनमा कांग्रेसलाई सुविधाजनक बहुमतसहित विजयी गराउन पनि पार्टी सभापतिमा शेरबहादुर देउवा नै फेरि एक पटक अपरिहार्यता देखिन्छ’, गिरीले भनेका छन् ।

देउवा कै नेतृत्व दोहोरिनुपर्ने आफ्नो प्रष्ट धारणा र दृष्टिकोण रहेको बताएका उनले त्यसका लागि आफू कुनैपनि पद, भूमिका र जिम्मेवारीमा रहन तयार रहेको बताएका छन् ।

‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’को मर्म भावनालाई आत्मसात गरेर महाधिवेशनमा होमिएको गिरीले बताएका छन् ।

Published : Tuesday, 2021 December 7, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया