ओलीले यसरी गर्दैछन् विरोधीहरूको शिकार, सरकार बच्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले डर, धम्की, सामदण्डभेद सबै तुरुप प्रयोग गरेर आफ्नो पक्षमा मोहल बनाउँदै लगेका छन् ।

सोमबार विश्वासको मत लिनुभन्दा अगाडि ओलीले एमालेका वरिष्ठ नेता माधव नेपाल समूहभित्र खैलाबैला उत्पन्न गराइदिएका छन् । ओलीले नेपाल समूहका केही सांसदहरूलाई विभिन्न प्रलोभनका साथै डर, धम्की दिएको एमालेका नेता भीम रावलले बताएका छन् । आइतबार एउटा एफएम रेडियोसँगको अन्तर्वार्तामा ओलीले सांसदहरूलाई विभिनन प्रालेभन, डर, धम्की दिएको बताए ।

नेपाल समूहका प्रत्यक्ष निर्वाचित २२ जना सांसदले आइतबार सामूहिक राजीनामा दिने भनिएको थियो । नेता नेपाल राजीनामा बोकेर संसद सचिवालय सिंहदरबारमा गएका थिए ।

नेता नेपालसँग ओली निकटका सुवास नेम्वाङसहितका नेताहरूले वार्ता गरेर राजीनामा दिनबाट रोकेका थिए । नेपाल समूहको माग पूरा गर्ने आश्वासन नेम्वाङले दिएपछि राजीनामा रोकिएको नेताहरूले बताएका छन् ।

ओलीले माग पूरा गरेर नेपाल समूहका सांसदहरूको राजीनामा रोक्न सफल भए भने एमालेको सरकार बच्ने सम्भावना छ । त्यसका लागि जनता समाजवादी पार्टी (जसाप)को महन्थ ठाकुर समूहले साथ दिनुपर्छ । ठाकुर समूहले साथ दियो भने ओली सरकार बाँच्नेछ । जसपाका ३२ सांसद छन् । ठाकुर समूह ओलीलाई समर्थन गर्ने पक्षमा छ । उपेन्द्र यादव समूह ओलीको विपक्षमा छ ।

एमाले एकताबद्ध रहेर ठाकुर समूहको १६ मत, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाको एक–एक भोट प¥यो भने ओली सरकार टिक्नेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई हटाउन एमालेको नेपाल समूहसँग विश्वासिलो आधार मागेको छ । नेपालले देउवालाई साथ दिने मौखिक आश्वासन दिए पनि देउवाले कम्युनिस्टको भर हुँदन भनेर लिखित प्रतिवद्धता खोजेका थिए । देउवाले नेपाल समूहलाई कि एमाले फुटाउनुपर्ने कि सामूहिक राजीनामा दिनुपर्ने सर्त राखेका थिए ।

देउवाले ओली सरकारविरुद्ध अविश्वास प्रस्तावको लागि पहिले पनि नेकपा विभाजनको प्रमाणपत्र खोजेका थिए ।

नेपाल समूहले सरकार निकटहरूसँग छलफल र भेटघाट गरेको थियो । २०७५ जेठ २ मा फर्कने छाँटकाँट अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको तर्फबाट नदेखाएपछि नेपाल समूह तनाबमा छ । नेपाल समूहले बार्गेनिङ गरेर ओलीलाई दवाव दिएर माग पूरा गराउने पक्षमा छ ।

नेपाल समूहलाई देउवा र ओलीबीच अर्ली चुनावको मूल्यमा भित्री साँठगाँठबारे अझै शंका छ । त्यो निश्चित नभएसम्म राजीनामा अघि बढ्न नसकेको बताइन्छ ।

नेपाल समूहले राजीनामा दिँदा कांग्रेस सभापति देउवाले इमान्दारिसाथ सरकार गठनको दावी पेश गरेनन् भने के गर्ने ? भन्नेमा चिन्ता जनाएको छ ।

देउवा र नेपाल समूहबीच नयाँ सरकार बनाउनेबारे प्याकेजमा डिल भएको थियो । प्याकेजमा सहमति हुँदा नेपाल समूहका ६ देखि ७ जना मन्त्री बन्ने पक्का थियो ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर अध्यादेश ल्याएर पार्टी फुटाउनेबारेमा समेत कुराकानी भएको एक नेताले बताएका छन् ।

नेपाल समूहका दाङका सांसद हीरा केसीले राजीनामा नदिने भनेर सार्वजनिक रुपमा बोलिसकेका छन् । केही समय पहिले महेश बस्नेतले उनै केसीलाई एअरपोर्टमा रिसिभ गरेका थिए ।

सांसद राजबहादुर बुढाले पनि पार्टी नेतृत्वले संकट टार्ने भएकाले सामूहिक राजीनामा दिन नहुने भनेर आफ्नो कित्ता क्लियर गरेको बताइन्छ ।

समानुपातिक सांसद गंगा चौधरीले पनि राजीनामा नदिने बताएकी छिन् । ओलीले नेपाल समूहभित्र खेलेर विभाजन ल्याउने प्रयास गरेका छन् ।

ओलीले नेपाल समूहमाथि सबै उपाय अपनाएर सरकार टिकाउने खेलमा छन् । अन्यथा राजीनामा दिएर भए पनि ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुरुपयोग गरेर प्रधानमन्त्री बन्ने योजनामा ओली रहेको चर्चा छ ।

Published : Sunday, 2021 May 9, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया