कांग्रेसको बोल्ड निर्णयले बालुवाटार गुटको सातोपुत्लो उड्यो, सबै जालझेल परास्त गरिने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
‘संसदीय दलको यो बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत २१ गतेको बैठकले पारित “प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने’ प्रस्ताव अनुमोदन गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘प्रतिनिधि सभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गर्दछ’, प्रमुख सचेतक खाणले भनेका छन् ।
‘अन्य राजनीतिक दलहरूलाई पनि विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ’, कांग्रेसका प्रमुख सचेतक खाणले भनेका छन् ।
वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । ओलीले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।
कांग्रेसले संविधानको मर्म र भावना विपरित वर्तमान सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐनलाई आफू अनुकुल संशोधन गरी अध्यादेश जारी गरेकोप्रति घोर विरोध गरेको छ ।
‘यसरी पटक–पटक संघीय संसदलाई छलेर जारी भएको अध्यादेशबाट गरिने निर्णय नेपाली कांग्रेसलाई मान्य हुने छैन’, खाणले भने, ‘संवैधानिक परिषदको कार्य क्षेत्रलाई संकूचित गर्ने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेताको सहभागी नहुने संसदीय दलको बैठकले निर्णय गर्दछ ।’
‘संवैधानिक परिषदका अन्य सदस्यहरूलाई बैठकमा सहभागी नहुन आग्रह गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले विभिन्न संवैधानिक आयोगहरूमा आफ्ना मान्छेलाई नियुक्त गर्न वैशाख २६ गते संवैधानिक परिषदको बैठक बोलाएका छन् । ओलीले नियुक्तका क्रममा अवरोध हुन सक्ने भन्दै अध्यादेशबाट संवैधानिक परिषदको बैठकसम्बन्धी कार्यविधि समेत फेरेका छन् । कार्यविधिको कांग्रेसले विरोध गर्दै बैठक बहिस्कार गर्ने जनाइ सकेको छ ।
कांग्रेसले कोभिड–१९ को महामारीले सबैको जनजीवनलाई अस्तव्यस्त बनाएको भन्दै उपचारका लागि अपील गरेको छ ।
‘संक्रमितको संख्या प्रत्येक दिन हजारौं बढिरहेको र मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ’, खाणले भने, ‘कैयन संक्रमितहरू एम्बुलेन्सको अभावमा उपचारका लागि अस्पताल पुग्न पाएका छैनन्, अस्पताल पुगेर पनि बेड पाएका छैनन्, बेड पाएर पनि अक्सिजन पाएका छैनन् र उपचार पाएकाले खर्च जुटाउन सकिरहेका छैनन् ।’
‘यस्तो कहाली लाग्दो अवस्था भईसक्दा पनि प्रधामन्त्री लगायत सरकारका जिम्मेवार अधिकारीको जनतालाई परेको दुःखकष्ट र शोक प्रतिको वेवस्ताले नेपाली कांग्रेस संसदीय दल अचम्मित र आक्रोशित भएको छ’, कांग्रेसले भनेको छ ।
‘कोरोनाको दोश्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले विज्ञहरूको सुझाव र हाम्रो पार्टीको माग प्रति संवेदनशील भएको भए र समय मै तयारी गरेको भए जनताको जीवन जोगाउन र यो संकट आउनबाट बचाउन सकिन्थ्यो’, खाणले भने ।
‘सरकार आफ्नो काम कर्तव्यबाट सम्पूर्ण रुपमा असफल भइसकेको छ’, खाणले भने, ‘सरकारको अकर्मण्यता, अयोग्यता र अनुदार कार्यले आज अपुरणीय क्षति भएको छ ।’
‘यो विषम परिस्थितिमा जनतालाई सु–सूचित गर्दै जनताको जीवन रक्षाका पक्षमा सरकारलाई काम गराउन संसदभित्र नेपाली कांग्रेस संसदीय दल निरन्तर सक्रिय भएर लागि रहने छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘कोभिड १९ को रोकथाम र न्यूनीकरणका निम्ति छिटोभन्दा छिटो सबै नागरिकलाई खोप लगाउने सरकारको प्राथमिकता हुनुपर्नेमा कमिशनका कारण नेपालीहरूले खोप पाउनुबाट बञ्चित हुनु दुःखद पक्ष हो’, विज्ञप्तिमा उल्लेख छ ।
‘समयमै खोप ल्याएर नागरिकलाई लगाउन सकेको भए कयौं जीवन जोगाउन सकिन्थ्यो’, विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीवन रक्षा गर्ने खोपमा समेत भ्रष्टाचार गर्ने नियतका कारण आज ठूलो मानवीय क्षति व्यहोर्ने अवस्था आएको छ ।’
कांग्रेसले भनेको छ, ‘सरकारको यो अमानवीय र गैरजिम्मेवार काम अक्षम्य अपराध हो । यो कार्यमा संलग्न जो सुकै भए पनि कडा भन्दा कडा कानूनी कारवाही गर्न जोडदार माग गर्दछ ।’
‘कोरोना महामारीमा जीवन गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूमा श्रद्धाञ्जलि अर्पण गर्दै संक्रमित हुनु भएकाहरूको शीघ्र संक्रमण मुक्तको कामना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘यो विषम घडीमा सबै दाजुभाई दिदीबहिनीले स्वास्थ्य मापदण्ड अपनाई आफू र आफ्नो परिवार साथै समुदायलाई सुरक्षित राख्न अनुरोध गर्दछौं ।’
आमनागरिकहरूलाई दुःखको यो घडीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पीडित नागरिक र सडकमा परेकालाई सक्दो सहयोग पुर्याउन कांग्रेस प्रमुख सचेतक खाणले आह्वान गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया