बेड र अक्सिजन नपाएर जनता मर्दै, गृहमन्त्री र ओलीका सल्लाहकार हेलिकप्टरमा चढेर सरर, कहाँबाट आयो पैसा ?
काठमाडौं । कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाले निर्वाचन आचार संहिता उल्लंघन गरेका छन् ।
शक्ति र सत्ताको आडमा थापाले आचार संहिता उल्लंघन गरेका हुन् । थापा सहयोगीहरूका साथ काठमाडौंबाट हेटौँडासम्म हेलिकप्टरमा गएर राष्ट्रिय सभाको वागमती प्रदेशको उप–निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीका कानूनी सल्लाहकार बाबुराम दाहाल र एमालेका नेता एवम् अधिवक्ता अग्नि खारेलका साथ थापा हेलिकप्टरबाट हेटौँडा गएका हुन् ।
ओलीका कानूनी सल्लाहकार बाबुराम दाहालले फेसबुकमा हेलिकप्टरमा चढेको फोटो राखेर ‘फ्लाइङ टु हेटौँडा’ भनेर लेखेका छन् ।
गृहमन्त्री थापा र दुई जना अधिवक्तालाई अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापाको लगानी रहेको सिम्रिक एयरको हेलिकप्टरले काठमाडौंबाट हेटौँडा लगेर काठमाडौं फिर्ता गराएको छ ।
गृहमन्त्री थापा हेलिकप्टरबाट हेटौँडा पुगेर मनोनयन पत्र दर्ता गराएपछि विपक्षी दलहरूले आचार संहिता उल्लंघन भएको भन्दै विरोध जनाएका छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरूको समर्थनमा संघीयताविज्ञ खिमलाल देवकोटाले राष्ट्रिय सभाको उप–निर्वाचनका लागि शुक्रबार मनोनयन पत्र दर्ता गराएका छन् । देवकोटा गाडीमा चढेर मनोनयन पत्र दर्ता गर्न हेटौँडा पुगेका थिए ।
गृहमन्त्री थापाले कम्युनिस्ट मुख्यमन्त्री डोरमणि पौडेललाई प्रस्तावक राखेका छन् । थापाले मन्त्री सरस्वती बस्नेतलाई समर्थक राखेका छन् ।
कोरोना महामारीको संकटबाट जनताले अस्पतालमा सहज रुपमा उपचार पाएका छैनन् । बेड र अक्सिजन नपाएर ज्यान गुमाइरहेका बेला गृहमन्त्री थापा भने हेलिकप्टरमा चढेर मनोनयन पत्र दर्ता गर्न हेटौँडा पुगेका छन् ।
गृहमन्त्री थापा हेलिकप्टर चढेको भाडा कति र कसले खर्च गरेको हो भनेर प्रश्न उठेको छ । थापा आफैले हेलिकप्टरको भाडा तिरेका हुन् वा एमालेले तिरेको हो खोजविन गर्नुपर्ने माग उठेको छ ।
‘राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा भाग लिने प्रत्येक उम्मेदवारले निर्वाचन प्रसार प्रसारका लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा चारवटा चारपांग्रे वा चारवटा मोटरसाइकल र यी साधन नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न पाइन्छ’ भनेर निर्वाचन आचारसंहितमा उल्लेख छ ।
अधिवक्ता स्वागत नेपालले ट्वीट गर्दै गृहमन्त्री थापासहितको टोलीलाई लुटेरको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘लुटेराहरुको मस्ती हेर्नुस्, यिनको हैसियत जतिबेला मन लाग्यो त्यतिबेला जहाँ मन लाग्यो त्यहाँ हेलिकोप्टर लिएर हिँड्ने हो ? गृहमन्त्रीको हैसियतमा पार्टी काममा राज्यको सम्पत्ति दुरुपयोग गर्न पाइन्छ ? भ्रष्टाचरीहरूको भर्सेला परोस् !’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया