कांग्रेसको जवाफले दिक्क भए ओली र एमाले नेताहरू, देउवाले एक्लै भेट्न मानेनन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री खड्ग्रसाद ओलीलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच भएको बैठकमा कांग्रेसले ओली सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको हो । ओलीले कांग्रेससँग विश्वासको मत दिन आग्रह गरेको कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महलते जानकारी दिए ।

ओलीले विश्वासका मतसँगै सत्ता सहकार्य गरेर जान कांग्रेससँग आग्रह गरेका थिए । कांग्रेसले वैशाख २७ गते अगाडि ओली सरकारलाई विश्वासको मत पनि दिन नसकिने र सत्ता सहकार्य गरेर जान पनि नसकिने जवाफ दिएको डा.महतले बताए ।

कांग्रेसले ओली सरकारबाट लोकतन्त्र र संविधानलाई कमजोर बनाउने गतिविधिहरू भएको भन्दै पहिलो व्यहारबाटै लोकतन्त्रलाई बलियो बनाउन सुझाव दिएको डा.महतले बताए ।

कांग्रेसले ओलीलाई लुम्बिनी र गण्डकी प्रदेशमा सत्ता टिकाउन गरिएको अलोकतान्त्रिक गतिधिविधिको स्मरण गराएको छ । सरकार टिकाउन गरिएका तल्लोस्तरको हर्कतको कांग्रेसले ओलीसँग विरोध गरेको सह–महामन्त्री डा.महतले बताए ।

‘प्रधानमन्त्री ओलीजीलाई लोकतन्त्रलाई बलियो बनाउन भनेका छौँ । उहाँहरूले सरकारलाई विश्वासको मत माग्नुभयो । प्रमुख प्रतिपक्ष भएकाले विश्वासको दिन नसक्ने भनेका छौँ’, डा.महतले भने, ‘सरकारलाई अहिले सहयोग गर्न नसकिने भनेका छौँ ।’

उनले भने, ‘सरकार टिकाउन लुम्बिनी र गण्डकीमा भएको घटना पनि भनेका छौँ ।’

‘ओली सरकारमा लोकतन्त्र बलियो बनाउने बारेमा व्यवहारमा देखिएन । विश्वासको वातावरण हुनुपर्छ’, डा.महतले भने, ‘अहिलेनै एमालेसँग सत्ता साझेदारी र समर्थन गर्ने अवस्था छैन ।’

‘लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिवद्धता हुनु पर्‍यो । व्यवहारमा देखिनुपर्‍यो’, उनले भने, ‘सत्ता सहकार्यको अवस्था छैन । उहाँहरूलाई विपक्षी दलको नाताले र तपाईहरूको व्यहारले सहकार्य गर्ने अवस्था छैन भनेका छौँ ।’

‘सत्ताधारी दलको क्रियाकलापले सहयोग गर्ने अथवा साझेदारी गर्ने कुरा छैन भन्यौँ’, डा.महतले भने, ‘हाम्रो उदेश्य विश्वासको मतलाई असफल बनाउने हो । त्यसपछि परिणाम के आउँछ बल्ल कदम उठाउनेछौँ ।’

माओवादी केन्द्रले समेतले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रुपमा फिर्ता लिएपछि ओली तनावमा छन् । ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

ओलीलाई आफ्नै पार्टी एमालेबाट विश्वासको मत लिने क्रममा असहयोग हुने निकै ठूलो सम्भावना छ । ओलीलाई जनता समाजवादी पार्टी (जसापा)का अध्यक्ष महन्थ ठाकुर समूहले मात्रै साथ दिने संकेत गरेको छ । ठाकुरबाहेक ओलीविरुद्ध सबै दलहरू छन् ।

एमाले–कांग्रेस वार्तामा एमालेबाट प्रधानमन्त्री ओलीसहित उप–प्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङको उपस्थिति रहेको थियो ।

कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, उप–सभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र सह–महामन्त्री डा.प्रकाशशरण महतको सहभागिता रहेको थियो ।

सभापति देउवाले ओलीसँग एक्लै वार्ता गर्न नमानेपछि कांग्रेस र एमालेबाट दोस्रो वरीयताका नेताहरूलाई पनि राखेर बैठक गरिएको थियो ।

Published : Wednesday, 2021 May 5, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया