लुम्बिनीमा एमालेले उत्पात काण्ड मच्चाएपछि सुध्रिन देउवाको चेतावनी, ओली–पोखरेललाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएका छन् ।

देउवाले आइतबार साँझ विज्ञप्ति जारी गरेर भनेका छन्, ‘संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’

‘एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन’, सभापति देउवाले भनेका छन् ।

‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ’, देउवाले भनेका छन् ।

उनले भने, ‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो ।’

‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ’, उनले भनेका छन् ।

‘बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु’, कांग्रेस सभापति देउवाले भनेका छन् ।

लम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान राजीनामा दिएपछि प्रदेश प्रमुख धर्मनाथप्रसाद साह अल्पमतमा रहेका पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेपछि कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गरेर संविधान र लोकतान्त्रिक प्रक्रियालाई पालना गर्न सचेत गराएका हुन् ।

Published : Sunday, 2021 May 2, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया