मुख्यमन्त्रीमा नियुक्त पोखरेलको खुसी धेरै टिक्न नपाउने, बहुमतसहित शपथ रोक्न पुगे सांसदहरू
बुटवल । एमालेका नेता शंकर पोखरेलले बल मिच्याइँ गरेर एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका छन् ।
आइतबार माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायतका दलका सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा ४० सांसद रहेको दाबी गर्दै शपथ रोक्न माग गरेका हुन् । उनीहरूले अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गरेका छन् ।
८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उप–निर्वाचनबाट विजयी सांसद विमला वली खत्रीले माओवादी केन्द्र रोजेपछि एमालेको पक्षमा ४० सांसद सीमित भएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उप–निर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको बताएका छन् ।
उनले विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँगभन्दा बढी सांसद रहेकाले दलहरूसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताएका छन् ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी प्रदेश प्रमुखसमक्ष गर्न लागेका छन् ।
लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले एमालेका संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपचार (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।
पोखरेलले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया