देउवाले ओलीलाई पसिना छुट्ने बनाएपछि ठाकुर आत्तिदै बालुवाटार छिरे
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा एमालेको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउन अविश्वासको प्रस्ताव दर्ता गराएपछि एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तनाब बढेको छ ।
गण्डकी प्रदेशपछि कांग्रेसले लुम्विनी प्रदेशमा नजर लगाएपछि ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर गुटलाई हातमा लिएर कम्तिमा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कर्सी बचाउने प्रयास गरेका छन् । ओलीले आफ्नो प्रधानमन्त्री पद बचाउनका लागि पनि ठाकुरसँग अनुरोध गरेको जसपाका एक नेताले बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईसँग भेटेर रातारात गण्डकी प्रदेशमा एमालेका नेता एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय गरेका थिए ।
गण्डकी प्रदेशका साथै लुम्विनी प्रदेशबाट पनि सरकार ढल्ने अवस्था देखेपछि ओलीले बिहीबार बालुवाटारमा जसपाका नेता ठाकुरलाई बोलाएर आफ्नो सरकारलाई समर्थन गर्न अनुरोध गरेको जसपाका एक नेताले बताएका छन् । ओलीले जसपाका मागहरू कार्यदलमार्फत पूरा गर्ने आश्वासन समेत दिएका छन् ।
ठाकुरको शरणमा ओली परे पनि गण्डकी प्रदेशमा ओली र एमालेको हातबाट सत्ता फुत्किने पक्कापक्की सरह छ । ओलीसँग उपेन्द्र यादव र बाबुराम भट्टराईले सहकार्य गरेर जान रुचि देखाएका छैनन् । महन्थ ठाकुरको गण्डकी प्रदेशमा कुनै पनि कुराको सुनुवाइ हुनेवाला छैन ।
ठाकुरको सुनुवाई लुम्विनी प्रदेशमा हुन सक्छ । त्यसो भयो भने शंकर पोखरेलको मुख्यमन्त्रीको पद जोगिन सक्छ । शंकर पोखरेल प्रधानमन्त्री ओलीका डिजाइनर हुन् । अहिलेको सबै बेथित र अराजकता शंकर पोखरेलकै गलत सल्लाह र सुझावका कारणका भएको माधव नेपाल समूहले आरोप लगाउँदै आएको छ ।
ओलीले जसपाको महन्थ ठाकुर समूहलाई हातमा लिएर आफ्नो प्रधानमन्त्री पद र लुम्विनी प्रदेशको सरकार बचाउने रणनीतिमा रहेको चर्चा छ ।
ठाकुर निकटका नेता लक्ष्मणलाल कर्णले जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे कुराकानी भएको बताएका छन् । कर्णले भने, ‘सरकारबारे हामीले केही कुरा गरेनौं ।’
कार्यदलमा एमाले संसदीय दलका उप–नेता सुवास नेम्वाङ, उप–महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा जसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण रहेका छन् । कार्यदलमा उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका कुनै पनि नेता छैनन् ।
प्रधानमन्त्री ओलीलाई सघाउने कि ओलीको विकल्प खोज्ने भन्ने विषयमा जसपामा दुई धार छ ।
नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई तत्कालै हटाइहाल्ने पक्षमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारप्रति नरम छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
गण्डकीमा तत्कालीन नयाँ शक्ति पार्टी नेपालबाट विजयी दुई जना सांसद छन् । सांसद हरिशरण आचार्य गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन् । धनमाया पोखरेल लामा समानुपातिक सांसद हुन् । जनयुद्धदेखि नै उनीहरू बाबुराम भट्टराईनिकटका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया