रोल्पा कांग्रेसको जिल्ला सभापतिमा खत्री सर्वम्मत निर्वाचित, देउवा पक्षीय नेता, कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति
रोल्पा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस रोल्पाको जिल्ला अधिवेशनले सभापतिमा मानबहादुर खत्रीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिमा मंगलबार रोल्पामा सम्पन्न जिल्ला अधिवेशनले खत्रीलाई सभापतिमा निर्वाचित गरेको नेता दुर्गा खड्काले बताए ।
अधिवेशनबाट उपसभापतिद्वयमा श्रीकुमारी घर्ती मगर र देबेन्द्र बोहरा, सचिवद्वयमा लीलाधर आचार्य र दुर्योधन राना तथा सह–सचिवद्वयमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत भएका छन् ।
सदस्यहरूमा इश्वरी खत्री, अमृतबहादुर बुढा, मोहनलाल घर्ती र रेखा नेपाली सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
रोल्पा प्रदेश सभा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कृष्ण खड्का र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तीर्थराज वली सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्नुभन्दा अगाडि रोल्पा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थितिमा झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया