पार्टीभित्र संकट छैन, दोहोरी खेल्ने काम बन्द गरौँः देउवा
सानेपा । नेपाली कांग्रेसका सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् ।
स्व.नवीन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपा, ललितपुरमा आयोजित श्रद्धाञ्जलिसभामा देउवाले पार्टीमा संकट नरहेको बताए । उनले पार्टी कहिले पनि संकटमा नरहेको बताए ।
देउवाले पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन आग्रह गरेका छन् ।
‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन’, सभापति देउवाले भने, ‘नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं ।’
उनले भने, ‘पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौं । धेरै पटक जितेका पनि छौं । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन’, उनले भने, ‘आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’
सभापति देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।
देउवाले स्व.जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए ।
स्व.जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको सभापति देउवाले बताएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व.जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए ।
उनले स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया