जसपा झस्किने गरेर ओलीद्वारा कांग्रेसको प्रशंसा, देउवाले उठाएको कदम अहिले आएर पुष्टि

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाले उठाएको कदमको प्रशंसा गरेका छन् ।

शनिबार एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा ओलीले कांग्रेसले सुझबुझ निर्णय लिएको भन्दै प्रशंसा गरे । उनले कांग्रेसलाई निर्वाचनसम्म प्रतिपक्षमा बस्ने म्याण्डेट रहेको बताए ।

‘मलाई त्यस्तो लाग्दैन, चलखेल गर्नुपर्ने आवश्यक्ता पनि छैन । चलखेल गरेर नि ! जस्तो, अहिलेको स्थितिमा चलखेल गरेर बिकल्प के ? उहाँहरूले गरेको राजनीतिको उदेश्य केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुनै हो त ?’, ओलीले प्रश्न गर्दै भनेका छन् । ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेसले चलखेल गर्न आवश्यक नरहेको बताए ।

‘मसँग १२१ सिटको सामर्थ्य छ । नेपाली कांग्रेससँग ६३ सिटको सामर्थ्य छ । मसँग प्रत्यक्ष निर्वाचित नै ८० सिटको सामर्थ्य छ । नेपाली कांग्रेससँग अलिक थोरै २३ सिटको सामर्थ्य होला’, ओलीले भने, ‘अहिले कुन लजिकबाट प्रधानमन्त्री फेर्नै पर्छ भन्न लागेको छ ? नेपाली कांग्रेसले ती पक्षहरूलाई बुझेको छ । शेरबहादुर देउवाजीले भनेको ठीकै हो ।’

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली कांग्रेसको जनादेश चुनावसम्म प्रतिपक्षमा रहनेनै नेपाली कांग्रेसको जनादेश हो । नेपाली कांग्रेसले हडबडी, जल्दबाजी केही देखाउँछ भन्ने मलाई लाग्दैन ।’
प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवासँग लामो समयदेखि भौतिक रुपमा भेट नभएको बताएका छन् । देउवासँग फोनमा सम्वाद भने भइरहेको उनले बताएका छन् ।

‘मेरो शेरबहादुर देउवासँग प्रत्यक्ष भेट नभएको अलिक महिनै भइसक्यो । टेलिफोनमा कुरा हुन्छ कहिले–कहिले । मैले त्यति गहिराइसँग उहाँसँग कुरा गर्न पाएको छैन’, उनले भने, ‘भेट पनि भएको छैन अहिले । केही महिनादेखिनै भेट भएको छैन । लगभग कार्तिकदेखि भेट भएको छैन होला । यस्तै कार्तिक, पुसको शुरु । प्रतिनिधि सभाको विघटनको सिफारिसभन्दा अघि भेट भएको हुँदो हो । त्यसभन्दा पछि भेट भएको जस्तो लाग्दैन मलाई ।’

ओलीले भने, ‘३–४ महिनादेखि भौतिक रुपमा भेट भएको छैन । उहाँ (देउवा) र मेरा वैभाव छैन । शत्रुता छैन । झैझगडा छैन । फेरि उहाँ पनि मुद्धा हाल्न गए जस्तो देख्दिन । मैले पनि मुद्धा हाल्न जाने मेरो चलनै छैन’, ओलीले देउवाको प्रशंसा गर्दै भने, ‘उहाँसँग नराम्रो हुनुपर्ने के छ र ? उहाँ अर्को पार्टीको नेता हुनुहुन्छ । म अर्कै पार्टीको नेता छु । उहाँ प्रतिपक्षको नेता हुनुहुन्छ । म सत्तापक्षको नेता छु । हामी एउटै पार्लियामेन्टमा छौँ । एउटै डेमोक्रेटिक व्यवस्थाभित्र छौँ । आधारभूत रुपमा डेमोक्रेसीलाई बचाउने कुराहरूमा समानता छ ।’

‘उहाँ (देउवा)सँग मेरो नराम्रो छ भन्ने कुरा होइन । सत्तापक्ष र प्रतिपक्षका आफ्ना–आफ्ना भूमिका छन् । ती भूमिकाका सीमाहरूभित्र रहेर समझदारी साथनै काम गरेका छौँ’, उनले भने, ‘सुन्छु ! नेपाली कांग्रेसभित्र विपक्षी दलका नेताले प्रधानमन्त्रीलाई साथ दियो । विपक्षी दलका नेताको प्रधानमन्त्रीसँग साँठगाँठ हिमचिम के–के भन्ने कुरा छ ।’

‘२०३१ साल चैतदेखि म जेलमै हुँदादेखि ०३१ साल चैतको अन्तिममा उहाँहरू जेलमा पर्नुभएको थियो । एक पल्ट मैले त्यहाँ चिनेको हो । अहिले लगभग कति वर्ष भयो ? ४६ वर्ष भएछ । ४६ वर्षदेखि शेरबहादुर देउवाजी र म उहाँसँग जेलमा पटक–पटक भेट हुन्थ्यो’, ओलीले भने, ‘हामी त्यहाँका स्थायी बासिन्दा थियौँ । उहाँहरू कहिले काँही आउनु हुन्थ्यो । उहाँहरू आएका बेला भेटघाट हुन्थ्यो । हामीलाई पनि नयाँ साथीहरू आउँदा, नयाँ राजनीतिक बन्दीहरू आउँदा, नयाँ खालका उहाँहरूका दृष्टीकोण सुन्न पाइँने । भिन्न दृष्टीकोण भए पनि, फरक धार भए पनि सुन्न पाइँने । विचार विमर्श गर्न पाइने त्यो अवसरमा मिल्थ्यो ।’

ओलीले भनेका छन्, ‘असमझदारी हुनु पर्ने केही थिएन । समझदारीनै थियो । कतिपयले त्योभन्दा पछि नै राजनीति थालेकाहरू होलान् । उनीहरूले टिकाटिप्पणी गर्लान् । कोही–कोही भरखरै जन्मिएका थिए होलान् । तिनले पनि टिप्णी लगर्लान् । ४६ वर्ष कुरा भनेको त अलिकति पुरानै हो । त्यस बेलादेखि हामी सुख, दुःखमा पनि सँगै छौँ ।’

‘शेरबहादुर देउवाजीले मलाई अलिक नजिकैबाट चिन्नुपनि भएको छ’, ओलीले भनेका छन्, ‘मलाई पनि लाग्छ शेरबहादुर देउवालाई अलिक नजिकैबाट चिन्या छु । अरु साथीहरूलाई पनि चिन्या छु । रामचन्द्र पौडेलजी लामो समयदेखि मसँग राम्रै चिनजानमा हुनुहुन्छ । मलाई उहाँको बारेमा पनि जानकारी छ । रामशरण महतजी, अर्जुन नरसिंह केसीजीहरू आदि ईत्यादिहरू ।’

‘यी साथीहरू पनि चिन्छु । अरु साथीहरू पनि चिन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘सबै साथीहरूको दृष्टीकोण मेरो सरकारप्रति सकारात्मक दृष्टीकोण छ ।’

सरकारका संकटमा परेका बेला ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको प्रशंसा गरेका छन् । ओलीले कांग्रेसलाई चिढ्याउन खोजेका छैनन् । भविष्यमा ओलीले कांग्रेससँगै मिलेर सरकार बनाउने विषयमा आफू सकारात्मक रहेको संकेत गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई सरकारमा ल्याउन ओलीले सम्वाद गरिरहेका बेला कांग्रेसप्रति देखाएको झुकाबले विभिन्न अड्कलबाजी निम्त्याइदिएको छ ।

Published : Sunday, 2021 March 28, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया