मोहन बस्नेतद्वारा अग्नि सापकोटासहित लुटेरा कम्युनिस्टको भण्डाफोर, केन्द्रीय सदस्यनै कांग्रेसमा प्रवेश
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरूले सिन्धुपाल्चोक जिल्लाका जनतामाथि ठूलो अन्याय गरेको बताएका छन् ।
नेपाली कांग्रेस जुगल गाउँपालिकाको वडा नम्बर ३ र ४ ले शनिबार आयोजना गरेको स्व.नवीन्द्रराज जोशीको श्रद्धाञ्जलि तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार कम्युनिस्टले कुनै पनि काम नगरेको बताए । सिन्धुपाल्चोकका जनताका कुनै पनि कुराको सुनुवाई नभएको उनले बताएका छन् ।
सिन्धुपाल्चोकमा भएका प्राकृतिक विपत्तिमा समेत अग्निप्रसाद सापकोटाले जनतालाई बीच बाटोमा अलपत्र पारेको भन्दै नेता बस्नेतले आक्रोश पोखेका छन् ।
‘कांग्रेसले सिन्धुपाल्चोकका बाढीपहिरोका घाइतेको उद्धार गरेर उपचार गरेका छौँ’, खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले भने, ‘अभिभावक गुमाका परिवारका बच्चालाई काठमाडौंमा लगेर सुविधा सम्पन्न कलेज र स्कुलहरूमा अध्ययनका लागि भर्ना गरेका छौँ ।’
उनले भने, ‘लिदीमा पहिरो गएको बेलामा एक जना मान्छे मर्ने थिएन कांग्रेसले जस्तो बुद्धि लिएको भए ।’
‘वडाध्यक्ष रामकुमार थापाको वडामा कांग्रेसले समयमा बुद्धि पुर्याउँदा थुमपाखरमा कसैको पनि ज्यान गएन’, उनले भने, ‘थुमपाखरको वडामा पहिरो गयो । पहिरो अलिकति जानेवित्तिकै गाउँपालिकाको अध्यक्षसहित सबै मिलेर तुरुन्त बस्ती सारिदियौँ ।’
‘कांग्रेसको बिबेकले गर्दा त्यहाँ एक जना मान्छेको ज्यान गएन’, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले भनेका छन् ।
‘लिदीमा सीडीओ र प्रशासनले खाद्यान्न, लत्ताकपडा, टेन्ट समेत पठाएका थिए । गाउँपालिकाको अध्यक्षले घरमा स्टोर गरेर राख्यो । त्यहाँका जनतालाई दिएन’, नेता बस्नेतले कम्युनिस्टहरूको भण्डाफोर गर्दै भनेका छन् ।
‘लिदीको पहिरो जानुभन्दा पहिलानै मान्छे हटाएनन् । त्यहाँका जनताले के अपराध गरेका थिए ? त्यहाँका जनताले हाम्रो बस्ती सारिदिनुस् भनेर सीडीओमा निवेदन दिएका छन्’, उनले भने, ‘गृह मन्त्रालयमा निवेदन दिएका थिए । कम्युनिस्ट पार्टीबाट जितेका नेताहरूलाई हारगुहार गरेका छन् । लिदीका जनताले कम्युनिस्टका नेतालाई गुहारे, गाउँपालिकालगायत गृह मन्त्रालयले समेत कुरा सुनेन ।’
उनले भने, ‘कसैले कुरा नसुनेपछि एउटै पहिरोमा परेर सबैको ज्यान गयो ।’
लिदीमा कांग्रेस उद्धार र राहतका लागि हेलिकप्टर लिएर जान लागेको थाहा पाएर अग्नि सापकोटाजी सरकारी हेलिकप्टर लिएर लिदी पुगे । रित्तो हात आए । एकसुक्का पैसा लिएर गएको पनि छैन । एक गेडा चामल लिएर गएको पनि छैन ।’
उनले भने, ‘कांग्रेसका साथीहरूले तुरुन्त पाँच लाख बराबरको सहयोग लिएर गए । जनतालाई सानो भए पनि राहत कांग्रेसले दियो । अग्नि सापकोटाले केही दिएनन् ।’
‘घाइतेलाई अग्नि सापकोटाले सरकारी हेलिकप्टरमा उठाएर त लगे । सरकारी हेलिकप्टरमा लगेको बिरामीलाई अग्नि सापकोटाले चौतारामा लगेर छोडेर आफ्ना कार्यकर्तालाई हेलिकप्टरमा हालेर काठमाडौं गए’, कांग्रेस नेता बस्नेतले भनेका छन्, ‘कांग्रेसले उद्धार गरेर लगेका बिरामीको काठमाडौंमा सुविधा सम्पन्न अस्पतालमा उपचार गरायौँ ।’
कांग्रेस नेता बस्नेतले कम्युनिस्टहरूले सिन्धुपाल्चोकमा रहेका हाइड्रोपावरबाट जबरजस्ती चन्दा उठाएर राजनीति गरेको आरोप लगाएका छन् । बस्नेतले कम्युनिस्टहरूलाई लुटेराको संज्ञा दिएका छन् । उनले सिन्धुपाल्चोकमा भइरहेको लुटपाट र अबैध धन्दाहरू रोक्न कम्युनिस्टहरूलाई चेतावनी दिँदै नसुध्रिए कारबाही गर्ने धम्की दिएका छन् ।
अग्नि सापकोटाले सिन्धुपाल्चोकबाट पटक–पटक निर्वाचन जिते पनि विकासमा कुनै ध्यान नदिएको उनले बताएका छन् ।
‘राजनीतिक गर्ने नाममा कम्युनिस्टले भ्रष्टाचार र जनतालाई दुःख दिएका छन्’, उनले भने, ‘सिन्धुपाल्चोकको जुगल गाउँपलिकाको हाइड्रोपावरको आतंक अब रोकिन्छ । रोक्नुपर्छ । कम्युनिस्टको ज्यादतिविरुद्ध जनता जाग्नुपर्छ ।’
कांग्रेस नेता बस्नेतले कम्युनिस्टहरूले भ्रष्टाचार, लुटपाट जस्ता कार्य गरेकाले संसारबाट लोप हुँदै गएको भन्दै नेपालबाट पनि समाप्त हुने बताए ।
कार्यक्रममा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य शिवदत्त पौडेलसहित ४ सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेता बस्नेतले पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापासहितका सिन्धुपाल्चोक कांग्रेसका नेताहरूको सहभागिता रहेको थियो ।












बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया