देउवाको कदमले कांग्रेसलाई फाइदा, पौडेलसहितका नेताहरूले कुरा बुझे

काठमाडौं । नेपाली कांग्रेसले सक्रिय सदस्यताको विषयमा छलफल गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सक्रिय सदस्यताका विषयमा छलफल भएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘आजको बैठकमा सरकार वा अहिलेको जल्दोबल्दो राजनीतिक विषयमा केही छलफल भएन’, उनले भने, ‘क्रियाशील सदस्यताको नामावली र जिल्लाबाट आएका सूचीहरूका बारेमा छलफल भएको छ ।’

सह–महामन्त्री डा.महतले अहिलेकै अवस्थामा सरकारमा जाने अवस्था नरहेको बताए । उनले केपी ओलीको सरकारलाई माओवादी केन्द्रको समर्थन रहेको बताउँदै कांग्रेस सरकारमा जान हतारमा नरहेको बताए । उनले आवश्यक पर्दा कांग्रेस पछाडि नफर्किने बताए ।

१४औं महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काममा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले गरेको प्रगतिका विषयमा समितिले बैठकमा जानकारी गराएको छ ।

मंगलबारसम्मका लागि क्रियाशील सदस्यताको टुंगो लगाएर नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने भए पनि अहिलेसम्म नौ जिल्लाले सदस्यता इन्ट्री नगराएको पनि सह–महामन्त्री डा.महतले जानकारी दिए । पार्टीले सदस्यताको विवरण पठाउन सफ्टवेयरमा इन्ट्री गराउने प्रणाली अपनाए पनि अहिलेसम्म ६९ जिल्लाबाट इन्ट्री शुरु भएको छ ।

सप्तरी, सिराहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पा जिल्लामा त्यस्तो विवरण इन्ट्री गर्ने कामको थालनी भएको छैन । अहिलेसम्म तीन लाख ९२ हजार सात सय ९४ नाम इन्ट्री भएको मध्ये नवीकरणतर्फ दुई लाख १२ हजार पाँच सय १९ जना र नयाँ सदस्यमा एक लाख ८० हजार दुई सय ७५ जना रहेका छन् ।

६ फागुनमा कांग्रेसको केन्द्रीय समितिले बनाएको तालिका अनुसार चैत १० भित्र नयाँ क्रियाशील सदस्यता र नवीकरण भएका क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा आइपुगिसक्नु पर्ने हो । कांग्रेसले आगामी भदौ ७, ८, ९ र १० गते १४ औँ महाधिवेशन सम्पन्न गर्ने गरी तल्ला तहको कार्यतालिका बनाएको छ ।

केन्द्रीय सदस्य रमेश लेखकले आवश्यक परे पार्टीले सरकारको नेतृत्व लिने बताएका छन् । ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारेमा छलफल भएको छैन ।

नेता लेखकले भनेका छन्, ‘आवश्यकता पर्‍यो भने पार्टीले सरकारको नेतृत्व गर्छ भनेकै छ । सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क भइसकेको छैन ।’

‘कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा परिपक्क हिसावले निर्णय गर्नुपर्छ,’ उनले भनेका छन्, ‘सरकारलाई नेतृत्व दिन भने तयार नै छौं ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, डा.शेखर कोइरालाहरू सरकारमा जान हतार गरिरहेका छन् । उनीहरूले सभापति देउवालाई ओलीलाई हटाएर कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने दवाव दिइरहेका छन् ।

आइतबार पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता पौडेलले ओलीलाई हटाउन कांग्रेसले महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई समर्थन गर्नुपर्ने धारणा राखेका थिए ।

सभापति देउवा भने बाँकी रहेको दुई वर्षको समयमा सरकारमा जाँदा कांग्रेसलाई नोक्सानी हुने बताउँदै आएका छन् । देउवाले कांग्रेसलाई बलियो बनाएर चुनावमा सबैभन्दा ठूलो र बहुमतसहित जिताउनुपर्ने पक्षमा अडान राख्दै आएका छन् ।

सरकारमा जानुपर्छ भनेर दवाव दिँदै आएका पौडेलसहितका नेताहरू सानेपा बैठकमा चुपचाप बसेर सुनेका थिए ।

Published : Monday, 2021 March 22, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया