‘लोभी’ यी कम्युनिस्ट मन्त्रीहरूको पद फुत्किने

काठमाडौं । माओवादी केन्द्रले एमालेतिर लागेका गृहमन्त्री रामबहादुर थापासहितका केही नेताहरूको सांसद पद खारेज गरिदिने भएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई जीवित गराइदिएपछि एमालेलाई साथ दिने गृहमन्त्री थापासहित नेताहरूको सांसद पद माओवादी केन्द्रले खारेज गर्न लागेको हो ।

नेकपा कायमै रहँदा प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका र नेकपा विघटन भएपछि पनि राजीनामा नदिइ सरकारमा निरन्तरता दिएका मन्त्रीहरूलाई माओवादीले राजीनामा दिएर पार्टीमा फर्किन पत्र पठाइसकेको छ ।

थापासहितका मन्त्रीहरूले कुनै जवाफ दिएका छैनन् । जवाफ नआएको भन्दै माओवादीले कारबाही गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माओवादी केन्द्रका मणिचन्द्र थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साहलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला तथा २३ गतेको नेकपा खारेज र एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको फैसलापछि पनि उनीहरूले ओलीको मन्त्रिपरिषदमा निरन्तरता दिइरहेका छन् ।

माओवादी केन्द्रले अब उनीहरू आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरूको सांसद पद खारेज गर्ने निर्णय गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

गृहमन्त्री थापासहितका माओवादी मन्त्रीहरूले मन्त्री पदको लोभमा माउ पार्टी छाडेर ओलीलाई साथ दिन एमालेतिर लागेको आरोप छ ।

Published : Monday, 2021 March 22, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया