रामचन्द्रले नयाँ प्रधानमन्त्री प्रस्ताव गरेपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीहरूको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठक सानेपास्थित पार्टी मुख्यालयमा बस्नेछ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले मुलुकलाई झन् समस्यामा पारेको भनेर आलोचना भइरहेका बेला देउवाले बैठक बोलाएका छन् ।

देउवाले अहिलेनै सरकारमा जाने समय नआएको बताउँदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताद्वय महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएर भए पनि सरकारमा जानुपर्ने दवाव दिँदै आएका छन् ।

कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गरेर मात्रै कांग्रेस सरकारमा जानुपर्ने बताउँदै आएका छन् । अरु दलको पिछलग्गु भएर सरकारमा जाँदा कांग्रेस कमजोर हुने देउवाको भनाइ छ ।

पौडेलले शनिबार एउटा अन्तर्वार्तामा देउवाले बिकल्प दिनुपर्ने बताएका थिए । पौडेलले महन्थ वा बाबुरामलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार रहनुपर्ने बताएका थिए । पौडेलको अभिव्यक्तिले कांग्रेसलाई कमजोर बनाएको चर्चा भएको थियो ।

यसैबीच, नेता पौडेलले गुटको बैठक राखेका छन् । पौडेलले काठमाडौंको बोहराटारस्थित निवासमा आफू निकटका केन्द्रीय सदस्य र सांसदहरूको बैठक गरेका हुन् ।

बैठकमा कांग्रेसले अन्य दललाई प्रधानमन्त्री दिएर भए पनि सरकारमा सहभागी हुनुपर्ने विषयमा छलफल भएको एक नेताले बताए ।

पौडेलले बैठकमा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेसले बाबुराम भट्टराई वा महन्थ ठकुरलाई पनि प्रधानमन्त्री बनाउन तयार रहनुपर्ने र देउवाले मार्गप्रसस्त गरिदिनुपर्ने धारणा राखेको एक नेताले बताए ।

Published : Sunday, 2021 March 21, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया