डगमगाएको ओली सरकारलाई कांग्रेसले नङ्ग्याइदियो

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको आरोप लगाएका छन् ।

सिंहदरबारमा बसेको संसदको कार्य व्यवस्था तथा परामर्श समितिको सोमबारको बैठकपछि सम्वाददाताहरूसँग कुरा गर्दै खाणले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताए ।

मंगलबार बस्ने संसदको बैठकका लागि सरकारले अहिलेसम्म कुनै पनि बिज्नेश नदिएको खाणले बताएका छन् ।

प्रमुख सचेतक खाणले सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रूपमा अगाडि बढाउनुपर्ने भए पनि ती अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको बताए ।

‘सत्तापक्ष सदनलाई गतिशिल गराउने र सदनलाई प्रभावकारी रूपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन’, खाणले भने, ‘उहाँहरूले बिगतमा पनि बजेट सेसनमा अस्वभाविक रूपमै अन्त्य गर्नुभयो । हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै विघटन गर्नुभो ।’

‘अस्ति अगाडि बढाएको त्यसमा संवैधानिक परिषदको अध्यादेश, संविधानको प्रतिकूल रहेको कारणले हामीले बिरोध जनाएका हौं’, उनले भनेका छन् ।

‘त्यसमा हामीले बिरोधको सूचना पनि दर्ता गरिसकेको छौँ’, खाणले भने, ‘भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेस गरेको छैन ।’

खाणले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरूची नदेखाएको आरोप लगाएका छन् ।

‘सदन प्रारम्भ हुँदा सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान–प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो’, उनले भने, ‘भोलिको मिटिङमा सबै दलहरूले अहिलेको परिस्थितिबारे शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा रूची देखाइएन ।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तयारी भएका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद बैठकका लागि विज्नेश दिन नसकेको आरोप लगाएको छ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संवैधानिक परिषदको बैठकसम्बन्धी व्यवस्थालाई अध्यादेशमार्फत जारी गरेको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।

ओलीले कांग्रेसको यो विरोधलाई एसिडसम्बन्धी अध्यादेशसँग जोडेर कांग्रेसको बदनाम गर्न खोजेका छन् ।

Published : Monday, 2021 March 15, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया