पद फुत्किने भएपछि ओलीद्वारा अर्को अवैधानिक निर्णय, नेपाल समूहसँग थुरुरु

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले विरोधीलाई ठेगान लगाउने गरेर निर्णयहरू गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीको छुट्टै कमिटी बनाउने घोषणा गरेको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित अर्याल होटेलमा शुक्रबार राति बसेको नेपाल समूहको आकस्मिक बैठकले अलग कमिटी बनाउने निर्णय गरेको हो । नेपाल समूहले ओलीले आफूलाई बलियो बनाउन र पद जोगाउन हदैसम्मको पार्टी विधान विपरितका हर्कत गरेको आरोप लगाएको छ ।

ओलीले छुट्टै पार्टी संरचना खडा गरेको भन्दै नेपाल समूहले आक्रोश पोखेको छ । स्थायी समिति सदस्य रघुजी पन्तले पत्रकारहरूलाई अध्यक्ष ओलीबाट पार्टीमा छुट्टै कमिटी बनाउने अभ्यास शुरु भइसकेको बताए ।

नेपाल समूहले शनिबार ११ बजे केन्द्रीय कमिटीका सदस्य र सांसदहरूको आकस्मिक बैठक बोलाएको छ । चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरिएको पन्तले बताएका छन् ।

ओलीले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेर माओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नुका साथै पदाधिकारी बनाएका थिए ।

भेलामा सबै जनवर्गीय संगठनहरूको सहभागिता हुनेछ । पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय नेपाल समूहले गरेको छ ।

उता, ओलीले एमालेमा रहेको उमेर हद हटाउने निर्णय गरेका छन् । विधानको व्यवस्थाअनुसार ओलीले आगामी महाधिवेशनबाट अवकाश लिनुपर्ने भएपछि यस्तो निर्णय लिइएको हो ।

नवौं महाधिवेशनबाट ७० वर्ष उमेर पुगेपछि कुनै पनि कार्यकारी पदमा रहन नपाउने निर्णय पारित गरिएको थियो । प्रधानमन्त्री ओली केही दिनअघि मात्रै ७० वर्ष पुगेका छन् ।

पार्टी विधानमा रहेको उक्त व्यवस्थालाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वाधा अड्काउ गर्ने निर्णय गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

एमालेको उक्त विधानमा ‘सबै कार्यकारी कमिटीमा निर्वाचित हुन वा मनोनीत हुन उमेरको हद ७० वर्ष हुनेछ’ भनिएको छ ।

यही प्रावधानका कारण भरतमोहन अधिकारीले एमालेको केन्द्रीय सदस्य हुन पाएका थिएनन् । सिद्धिलाल सिंह केन्द्रीय कमिटीबाट निस्किएका थिए ।

नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले भनेकी छिन, ‘जे भइरहेको छ यो एकदमै गलत हो । विधान विपरीतको यो ज्यादती हो । कम्युनिष्ट आन्दोलनको विसर्जन हो । तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ । यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौं । साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ ।’

Published : Friday, 2021 March 12, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया