कम्युनिस्ट असफल भए, कांग्रेसले बहुमत ल्याउँछः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिस्टहरू फेल भएको सन्देश लिएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

स्व.मित्रसेन दाहालको १३औँ दिनको पून्यतिथिका अवसरमा काठमाडौंमा बुधबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले निर्वाचनबाट कांग्रेस नडराउने बताए । उनले निर्वाचनका विषयमा पार्टीले कुनै पनि बेला निर्णय गरेर जाने बताए ।

डा.महतले अर्को चुनावमा कम्युनिस्ट फेल भएको सन्देश दिएर निर्वाचनमा जाने बताए । उनले निर्वाचनबाट बहुमत ल्याएर सरकार बनाउने समेत बताएका छन् ।

सह–महामन्त्री डा.महतले नेपाली कांग्रेस पार्टी कम्युनिस्टसँग पछाडि लागेर सरकारमा नजाने बताएका छन् । उनले कम्युनिस्टहरू असफल भएको समेत बताए ।

डा.महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जान नहुने बताए । उनले सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने बताएका छन । उनले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन ।

‘अहिले नेपाली कांग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ’, उनले भने, ‘धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौं । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होइन । बैठकको प्रारम्भ हो ।’

डा.महतले भने, ‘त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुइटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ ।’

‘अहिले नै हौसियर फलानोसँग समीकरण गर्ने भन्यौं भने त्यो अपरिपक्व हुन्छ’, उनले भने, ‘त्यो गुट ओली जुट्छ कि ? त्यो पनि प्रयास भएका छन् । देशी विदेशी सबै प्रयासहरू संलग्न छन् ।’

उनले भने, ‘अहिले पार्टीले लिएको पर्ख र हेरको नीति उपयुक्त नीति छ । अब जुन बेला त्यहाँ देखिन्छ । नेपाली कांग्रेस सरकार निर्माणमा नेपाली कांग्रेसको भूमिकाको आवश्यकता पर्‍यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ ।’

‘निर्णय गर्न नेपाली कांग्रेस सक्षम छ। नेपाली कांग्रेसको भूमिकाको आवश्यकता देखियो भने हामिले कुनै पनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली कांग्रेस जाँदैन भन्ने मलाई लाग्छ, जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ’, डा.महतले भने, ‘नेपाली कांग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता पर्‍यो भने त्यो हामीले लिनुपर्छ ।’

‘फलानोसँग चाहिँ गर्नुपर्छ फलानोसँग चाहिँ हुँदैन भन्ने बहस छ’, उनले भने, ‘कांग्रेसको नेतृत्व जसले स्वीकार गर्छ त्यसमा हामीले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन । कांग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा ।’

उनले कांग्रेस पार्टी कम्युनिष्ट कुन पक्ष तिर लाग्नेभन्दा पनि कम्युनिष्टहरूलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने बताए । उनले आफ्नो पक्षमा राजनीति ल्याउन दीर्घकालीन सोच राख्नुपर्ने बताएका छन ।

स्व.मित्रसेन दाहालको निधनबाट कांग्रेसलाई ठूलो क्षति भएको बताएका डा.महतले ओखलढुंगामा स्व.दाहालले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्व.मित्रसेन दाहालले कांग्रेसमा गरेको गोगदानको चर्चा गरे । उनले मित्रसेन दाहालले देखाएको बाटोमा लाग्न अनुरोध गरेका छन् । उनले स्व.दाहालको निधन हुँदा ओखलढुंगाले अलस मित्र गुमाएको बताए ।

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले पनि स्व.मित्रसेन दाहालले कांग्रेस र सामाजिक कार्यमा ठूलो योगदान गरेको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका नेता कार्यकर्ता, परिवारजन र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

प्रदेश सभा निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बनेका मित्रसेन दाहालको काठमाडौंमा निधन भएको थियो ।

Published : Wednesday, 2021 March 3, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया