ओली–प्रचण्डलाई दुईतिहाइ बाँदरको हातमा नरिवल, भ्रष्ट कम्युनिस्टसँग हिसब लिन्छौँः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्टहरूका कारण ट्रयाकभन्दा बाहिर गएको संविधानलाई सहि बाटोमा ल्याउने बताएका छन् ।

गृहजिल्ला दाङको घोराहीमा सोमबार आयोजित नेपाली कांग्रेसको कम्युनिस्ट सरकार विरोधी विरोध सभालाई सम्बोधन गर्दै गिरीले संविधानलाई सहि बाटोमा ल्याउन कांग्रेसले जेपनि गर्न तयार रहेको बताए । ‘जनताको जनमत, जनताको आवाजलाई कांग्रेसले सम्मान गर्छ’, उनले भने, ‘आफूले बनाएको संविधानलाई कांग्रेसले रक्षा गर्छ ।

उनले भनेका छन्, ‘कांग्रेसको आन्दोलनले संविधानको रक्षा गर्ने हो । संविधान ठीक ठाउँमा ल्याउँछौँ ।’

कम्युनिस्टहरूको विश्वास कहिल्यै पनि गर्न नहुने बताएका कांग्रेस नेता गिरीले केपी ओलीसँग अंकमाल गर्न पुगेका प्रचण्डलाई ओलीले औकातमा ल्याइदिएको बताए । ‘ओलीसँग अंकमाल गरेको प्रचण्डले सबै कुरा देखेका छन् । यिनीहरू फेरि षड्यन्त्र गर्न सक्छन् । सचेत हुनुपर्छ’, गिरीले भनेका छन् ।

पाँच वर्ष सरकार चलाउन दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूले तीन वर्षभित्रै संसद भङ्ग गरेर देशलाई अस्थिरतातिर लगेको बताए ।

‘दुईतिहाइ पाएका कम्युनिस्टहरूलाई बाँदरको हातमा नवरिवाल भयो । देश चलाउन सकेनन्’, गिरीले भने, ‘अब देश र जनताका लागि कांग्रेस नै बिकल्प हो ।’

संसद भङ्ग गरेर ओली–प्रचण्डले सडक र माञ्चहरूमा नाङ्गो नाच देखाइरहेको कांग्रेस नेता गिरीले आरोप लगाएका छन् ।

‘ओली र प्रचण्डको नाङ्गो नाच सडक र मञ्चहरूमा देखिएको छ । नाटक मञ्चन गरेका छन्’, उनले भने, ‘यो नाटक धेरै दिन टिक्नेवाला छैन ।’

कांग्रेसको आन्दोलनबाट ओलीको सरकार आत्तिएको पूर्वमन्त्री गिरीले बताएका छन् । ‘कांग्रेसको आन्दोलनसँग ओली सरकार डराएको छ’, उनले भने, ‘असंवैधानिक र अलोकतान्त्रिक काम गर्ने कम्युनिस्टलाई कांग्रेसले घुँडा टेकाउँछ ।’

कांग्रेस नेता गिरीले पार्टीभित्र एकताको आवश्यक्ता रहेको बताएका छन् । ‘सबैभन्दा ठूलो कुरा हाम्रो एकता हो’, उनले भने, ‘ओली–प्रचण्डले कांग्रेसलाई वीस वर्ष सत्तामा आउँदैन भनेका थिए । उनीहरू तीन वर्षभित्र भताभुङ्ग भएका छन् ।’

कांग्रेसले दाङको विकास र समृद्धि गर्ने बताएका पूर्वमन्त्री गिरीले मुख्यमन्त्री शंकर पोखरेलले दाङमा कांग्रेसले ल्याएका योजना र विकासका कार्यक्रमहरू उद्घाटन गर्दै हिँडेको बताए ।

‘दामोदर रोडमा मैले पुल बनाएको थिएँ । शंकर पोखरेलजीले उद्घाटन गर्नुभयो । त्यो पुल मैले ल्याएको थिएँ । उद्घाटन गर्दा दीपक गिरीले गर्नुभएको भनेर भनेको भए के हुन्थ्यो नि ?’, गिरीले भने, ‘दाङमा सिचाइँ, तटबन्धलगायतका योजना मैले ल्याएको हुँ । दाङको विकासमा खुमबहादुर खड्काको ठूलो योगदान छ ।’

ओली–प्रचण्डसहितका कम्युनिस्टहरूबीच भागबण्डामा कुरा नमिलेर संसद भङ्ग गरेको उनले आरोप लगाए ।

कोभिडका बेला स्वास्थ्य सामग्री खरिदमा करोडौँ भ्रष्टाचार भएको बताएका गिरीले वाइडबडीमा अर्बौं रुपियाँ हसुरेको आरोप लगाएका छन् । ‘संसद भङ्ग गर्नुमा कुनै सैद्धान्तिक, राजनीतिक र संवैधानिक कुरा गर्दैन’, उनले भने, ‘प्रचण्डले अशं मागेको हो । ओलीजीले अशं दिनुभएन । नदिएपछि दुबैमा विवाद भयो । संसद भङ्ग गरे ।’

मान्छे मारेर हिंसाको राजनीति गरेका ओली–प्रचण्डसहितका कम्युनिस्टले सुकुम्वासीका नाममा जनतलाई झुक्काउन आइपुगेको नेता गिरीले बताएका छन् । उनले भने, ‘होसियार हुन जरुरी छ । कम्युनिस्ट भनेका ठग हुन् । झुठ बोल्छन् । सचेत हुनुपर्छ । निर्वाचनमा के बोलेका थिए । तीन वर्षसम्म के गरे ? भुँडी भर्न मात्रै केन्द्रित भएका छन् ।’

‘ओली बुटवलमा कराए । काठमाडौंमा प्रचण्ड कराए । जनतालाई दिग्भ्रमित पारेका छन्’, नेता गिरीले भने, ‘मान्छे मारेकाहरू अहिले आएर अतालिएका छन् । डराएका छन् ।’

दाङको विकासमा कम्युनिस्टले ठूलो घोटाला गरेको गिरीले बताएका छन् । ‘सबै लुट्ने मात्रै कुरा छन् । घोराही तुलसीपुरको चार लेनको बाटोको ठेकेदार को हो थाहा छ ? त्यही घनश्यामका पुत्र हुनुहुन्छ । ब्ल्याक लिष्टमा पर्न लागेका छन्’, नेता गिरीले बाटो निर्माण ढिलाइ गरेको बारे आक्रोश पोख्दै भने, ‘यो बाटो किन बनेको छैन ? हिजो बामदेवका पछाडि लाग्नुभएको थियो । अहिले ओलीको पछि लाग्नुभएको छ । ओलीको सरकारलाई रक्षाकवच बनाउनुभएको छ ।’

घोराहीमा कांग्रेसको विरोध जुलुस र विरोध सभामा हजारौँ कार्यकर्ताको सहभागिता रहेको थियो । विरोध सभामा महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, पार्वती डिसी चौधरी, कृष्णकिशोर घिमिरे, राष्ट्रिय सभामा कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटा, पूर्वसांसद राजु खनाल लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 February 16, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया