कांग्रेस अपहरणकारीको फन्दामा छ १८ करोड टेलर हो, गगनजी धेरै चाँडो पक्राउ पर्दै हुनुहुन्छ : मोहन बस्नेत

विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस अपहरणकारीहरूको फन्दामा परेको छ ।

मंगलबार बिराटनगरमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै गगन थापाले कस–कसका जामा लगाएर कांग्रेस कब्जा गर्न रणनीतिका साथ अगाडि बढेको बताए । उनले चटकेहरूको हातमा कांग्रेस पार्टी छाड्न नसकिने बताए ।

नेता बस्नेतले भने, ‘विशेष महाधिवेशनको नाममा, कस्तो परिस्थितिमा ? एकातिर हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा र उहाँको धर्मपत्नी डा.आरजु राणाज्यूलाई छ्यापछ्याप काटेर मरणासन्न भइरहेको अवस्थामा केन्द्रीय कार्यसमितिको पदाधिकारीहरूको बैठकमा एक पटक पनि स्वास्थ्यलाभको कामना गर्न पनि नसक्ने । यही मौका पारेर कांग्रेस पार्टी कब्जा गरेर, विदेशीका जामा लगाएर, अनेकौ रुप धारणा गरेर, नेपाली कांग्रेसलाई समाप्त गरेर, कस–कसले चाहेको सरकार यो देशमा बनाउन पर्ने हो । कस्तो खालको राजनीतिक व्यवस्था अगाडि बढाउनुपर्ने हो । त्यो ढंगको मतियार भएर हाम्रा तत्कालीन महामन्त्री गगन थापाजी जसले आफूले आफै क्रियाशील सदस्यता छानविन कमिटीको संयोजक भएर पनि उहाँले अधिवेशन अगाडि बढाउन सक्नु भएन । त्यो लाजकाज पचाएर ।’

नेता बस्नेतले भने, ‘अब आगामी दिनमा यो पार्टीलाई यस्तै चटकेहरूको जिम्मामा छोड्ने हो भने यो देश कुन बेलामा हामीले नेपाली हौं भन्न पाउने हो वा नपाउने हो ? त्यो शंकाको घेराभित्र रहेको परिस्थितिमा नियमित महाधिवेशनको शिलशिलामा यो पार्टीलाई बलियो, मजबुत बनाउनुपर्छ ।’

‘हाम्रा तत्कालीन महामन्त्रीजीहरू, उहाँहरूले समेत शेरबहादुर देउवाजीको घरमा मान्छे पठाएर जलाउने प्रयास गर्नेहरू, जसले पुरस्कारको रुपमा टिकट पाएका छन् भन्ने पनि कुरा उठेको छ,’ नेता बस्नेतले भने, ‘हाम्रै मान्छेहरू गगन थापाको नेतृत्वमा पठाएको हो । यो कुरा आवश्यक पर्दा हामी भन्न सक्छौँ भन्दाको अवस्था छ । आजसम्म पनि गगन थापाजीले एक पटक पनि होइन भनेको अवस्था छैन ।’

कांग्रेस नेता बस्नेतले भने, ‘आफ्नो अभिभावकको हत्या प्रयास गर्नेलाई पातकी भन्नु पर्छ । निर्वाचन आयोगले के गद्दारी गरेको छ ? यो पार्टी उहाँको हातमा कसरी पुग्यो ? वा अदालत त्यो बेलामा किन फस्यो भन्ने कुरामा पनि हामीले निस्सा प्राप्त गरेका छौँ ।’

‘त्यति मात्रै होइन । यहाँ १८ करोडको कुरा उठेको छ । मैले गगन थापाजीको बारेमा धेरै कुरा जानकारी राखेको छु । उहाँपछिको स्वास्थ्यमन्त्री म हुँ । स्वास्थ्य मन्त्रालयमा मात्रै गगनजीका दर्जनौं केश छन्,’ नेता बस्नेतले भने, ‘१८ करोड टेलर मात्रै हो । टेलर । फिलिम आउन बाँकी छ भनेको थिएँ । अब भरखर शुरु हुन थालेको छ । मान्छे पक्रिन थालेका छन् । उहाँको कर्तुतले गर्दा उहाँ धेरै चाँडो पक्राउ पर्दै हुनुहुन्छ । उहाँका कर्तुतका आधारमा भनिरहेको छु ।’

Published : Tuesday, 2026 November 17, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया