रुख चिन्ह किन्ने र वनको रुख काटेर बेच्नेलाई सर्लाही ४ मा स्वागत छ : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले रुख चुनाव चिन्ह किन्ने र वनको रुख काटेर बेच्नेहरूलाई सर्लाहीमा स्वागत छभन्दै गगन थापा र सुरेन्द्रप्रसाद सिंहप्रति व्याङ्ग्य गरेका छन् ।

आइतबार नेता सिंहले सामाजिक सञ्जालमार्फत् रुख चुनाव चिन्ह किन्ने भनेर गगन थापा र वनको रुख काटेर बेच्ने भनेर सर्लाही कांग्रेसका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहप्रति लक्षित गरेर टिप्पणी गरेका हुन् ।

‘रुख चुनाव चिन्ह किन्ने र सार्वजनिक वनको रुख काटेर बेच्ने दुइटैलाई सर्लाही –४ मा स्वागत छ,’ रास्वपाका सांसद सिंहले लेखेका छन् ।

छठ मनाउन भन्दै गगन सर्लाहीतिर छन् । छठको पूजा गरेको तस्बिर सामाजिक सञ्जालमा आइरहेका बेला रास्वपा सांसद सिंहले ब्याङ्ग्य गरेका हुन् ।

नेपाली कांग्रेसको चुनाव चिन्ह पाउन बिचौलिया इनम सापकोटामार्फत् १८ करोडमा डिल गरेको भनेर अडियो सार्वजनिक भएपछि गगन थापा र सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि गम्भीर प्रश्न उठेका बेला सत्तारुढ रास्वपाका सांसद सिंहले कठोर टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रासद सिंहले सार्वजनिक वनको रुख कटान गरेर बेचेपछि सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । भ्रष्टाचारमा दोषी ठहर भएका सुरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नं. ४ मा गगन थापालाई लगेर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएका थिए ।

नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापालाई रास्वपाका सांसद सिंहले १२ हजारभन्दा धेरै मतको अन्तरबाट हराइदिएका थिए ।

Published : Sunday, 2026 November 15, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया