नवलपुरमा वीपीको सालिक तोडफोड, संयोजक डा.कोइरालाद्वारा घोर भर्त्सना, दोषीलाई कारबाहीको माग
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले जननायक वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घोर भर्त्सना गरेका छन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक प्रा.डा.कोइरालाले भने, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपुरको पार्टी कार्यालय परिसरमा रहेको नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, नेपाली कांग्रेसका संस्थापक एवं जननायक वीपी कोइरालाको सालिक अज्ञात समूहद्वारा तोडफोड गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दछु ।’
उनले भने, ‘जननायक वीपी कोइरालाको सालिकमाथि गरिएको यो आक्रमण एउटा सालिकमाथिको तोडफोड मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास, आदर्श, मूल्य र मान्यतामाथिको प्रहार हो ।’
‘वीपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई कमजोर बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक संस्कार र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
‘यस घटनाले देशमा लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावको अवस्था कता उन्मुख हुँदैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
‘यस घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषीलाई तत्काल पहिचान गरेर कानूनी दायरामा ल्याउन नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गर्दछु,’ उनले भने ।
‘लोकतान्त्रिक आन्दोलनका आदर्श र इतिहासमाथिको आक्रमण कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,’ कांग्रेसका संयोजक प्रा.डा.कोइरालाले भनेका छन् ।
नेपाली कांग्रेस नवलपुरको पार्टी कार्यालयमा रहेको वीपी कोइरालाको सालिकलाई अज्ञात समूहले तोडफोड गरेपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन् । दोषीलाई कारबाहीको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया