मलाई विश्वास छ, न्याय हुन्छ, पार्टी हाम्रो हो, कतै जाँदैन : देउवा
जावलाखेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतबाट आफूहरूलाई न्याय हुने बताएका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको आधिकारिकताका सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दा निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरेका हुन् ।
‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ । यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ देउवाले भने । उनले राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन भन्दै प्रश्नसमेत गरेका छन् ।
सभापति देउवाले तथाकथित विशेष महाधिवेशन हुँदा आफूसँग सल्लाह नगरेको समेत बताएका छन् । ‘पार्टी सभापति मै छु, मलाई थाहै छैन,’ देउवाले भने, ‘विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ ।’
सभापति देउवाले जेनजी विद्रोहका बेला भएको आक्रमणमा आफू गम्भीर घाइते भएकोसमेत बताए । ‘सुरक्षाकर्मी नभएको भए मलाई मारिसकेका हुन्थे, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो,’ देउवाले भने । जेनजीका नाममा आफूहरूमाथि षड्यन्त्र भएको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया