तथाकथित विशेष महाधिवेशनले गर्दा कांग्रेसको सिट संख्या खुम्चियो : डा.महत
नुवाकोट । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशनवालाहरू कै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै डा.महतले पार्टीको मर्म र भावना नबुझ्नेहरूका कारण चुनावमा कांग्रेस कमजोर भएकोबताए ।
कांग्रेसको तथाकथित विशेष महाधिवेशनबाट आफूलाई सभापति घोषणा गरेका गगन थापाप्रति लक्षित गर्दै डा.महतले प्रतिनिधि सभामा सिट सीमित हुन पुग्नु दुर्भाग्यपूर्ण रहेको बताए । ‘शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएको भए पार्टीले सजिलै ५५ सिट हासिल गर्ने थियो,’ उनले भने ।
नेता डा.महतले नियमित महाधिवेशनपछि कांग्रेसमा सबै पक्ष एकताबद्ध हुने बताएका छन् । कांग्रेसलाई विभिन्न पक्षबाट आक्रमण तथा षड्यन्त्र भइरहेको उल्लेख गर्दै डा.महतले पार्टीलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विधिसम्मत र संस्थागत संस्कारअनुसार चल्ने बनाउनुपर्ने बताए ।
तथाकथित विशेष महाधिवेशन पक्षधरले पार्टीमा विचार, विधान र संस्कारलाई प्राथमिकता नदिएको आरोप लगाउँदै नियमित महाधिवेशनबाट यी सबै कुराको अन्त्य हुनेसमेत डा.महतले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया