भ्रामक हर्कत भएपछि रास्वपा दाङका सभापति खनाल कानूनी कारबाहीमा जाने

लमही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङका जिल्ला सभापति किरण खनालले आफूविरुद्ध सामाजिक सञ्जालमा गतिविधि गर्नेहरूलाई कानूनी कारबाहीका लागि पहल गर्ने चेतावनी दिएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमार्फत् सभापति खनालले आफ्नो नाम जोडेर सामाजिक सञ्जाल तथा मिडियामा झुठ्ठा र भ्रामक विषयवस्तु प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘आजभन्दा करीब दुई महिना अगाडिको घटना । तत्कालीन समयबाट मेरो नाम जोड्नको लागि धेरै प्रयास भएकै हुन् ।’

‘मेरो नाम जोड्ने ठाउँ केही नपाएपछि फेरि दुई महिना पछाडि आफ्नो राजनीतिको रोटी सेकाउन पछाडि परेका छन् केही साथीहरू,’ सभापति खनालले भने, ‘मिडियामा मेरो र मेरो फर्म श्री देउराली पोल्ट्री ब्रिडिङको नाम जोडेर आएका अवैध कारोबारसम्बन्धी समाचारहरू पूर्ण रूपमा झुठ्ठा र भ्रामक छन् ।’

उनले भने, ‘तस्बिर र फर्मको नामै तोकेर बेइज्जत गर्नेगरी समाचार आएपछि म यसको कानूनी उपचारका लागि अफिस खुल्नेबित्तिकै किटानी जाहेरीसहित ठाडो उजुरी दर्ता गर्दैछु ।’

‘मैले वा मेरो फर्मले कानूनविपरीत एकसुकाको पनि अवैध धन्दा गरेको छैन र यदि मेरो दोष प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने, ‘रास्वपा दाङ जिल्लाका सम्पूर्ण साथीहरू तथा शुभचिन्तकहरूलाई यी भ्रमपूर्ण हल्लाको पछाडि नलाग्न अनुरोध गर्दछु ।’

‘यदि म दोषी ठहरिए मलाई बचाउन नपर्ने स्पष्ट पार्दै, मेरो मानमर्दन गर्ने जो–कोहीलाई कानूनी कठघरामा उभ्याउन म पूर्ण रूपमा प्रतिबद्ध छु,’ सभापति खनालले भने ।

रास्वपाका सभापति खनाललाई भारतबाट अबैध रुपमा चल्ला आयात गरेको लगायतका विभिन्न आक्षेपहरूसहित सामाजिक सञ्जालमा तस्बिर जोडेर विषयवस्तु राखिएपछि आक्रोशित बनेका छन् ।

Published : Saturday, 2026 November 14, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया