छिमेकीले दाङमा पट्रोल छर्किएर आगो लगाइदिँदा गम्भीर घाइते, कांग्रेस नेता चौधरीद्वारा उपचार र कारबाहीको माग

लमही । दाङमा सामान्य विवादका क्रममा एक व्यक्तिले अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा एक जना गम्भीर घाइते भएका छन् ।

दाङको राजपुर गाउँपालिका–२ बेलाको खाल गैरा खेल मैदानमा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाई गम्भीर घाइते बनाएको आरोपमा एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजपुर गाउँपालिका–२ मटेरियाका ३९ वर्षीय त्रिलोकसिंह कार्कीले आफ्नै छिमेकी बलुवा डाडाका अन्दाजी ४८ वर्षिय रुपलाल चौधरी (गोमे) माथि पेट्रोल खन्याएर आगो लगाएको आरोप लागेको हो ।

शनिबार अपराह्न मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो । सोही क्रममा कार्कीले आफूसँगै लिएर गएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगो लागेर चौधरी गम्भीर घाइते भएका छन् । घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट नियन्त्रणमा लिएको छ । गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले राजपुर घटनाको कडा शब्दमा निन्दा एवम् भर्त्सना गरेका छन् । चौधरीले भने, ‘दाङको राजपुर गाउँपालिका वडा नं. २ मा पासबिक तरिकाले पेट्रोल छर्केर एकजजा अबोध व्यक्तिलाई आगो लगाई ज्यान लिने गरि भएको घट्नाको निन्दा गर्दै सरकारले तत्काल नेपालगञ्जबाट निजको ज्यान रक्षाको लागि अन्यत्र लैजाओस् । घाइते व्यक्तिको शरीर ८५ प्रतिशत जलेको बुझिन आएको छ । उपचारका उचित व्यवस्था र दोषीलाई कारबाही होस् ।’

Published : Saturday, 2026 November 14, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया