तरुण दल र नेविसंघद्वारा वीपीको सालिक तोडफोड गर्नेलाई कारबाहीको माग
काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाको कडा शब्दमा निन्दा एवम् भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
शनिबार तरुण दलका अध्यक्ष दिल लामा र नेविसंघकी अध्यक्ष श्रृजना मल्लले अलग अलग प्रेस विज्ञप्ति जारी गरेर नवलपुर जिल्लाको कावासोतीमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा रहेको वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाको निन्दा गरेका हुन् ।
तरुण दलका अध्यक्ष लामाले भने, ‘नवलपुर जिल्लाको कावासोती नगरपालिका–२ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय अगाडि रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाको सालिक तोडफोड गरिएको घटनाप्रति नेपाल तरुण दल केन्द्रीय कार्यसमिति घोर भर्त्सना गर्दछ ।’
‘जननायक वीपी कोइरालाको सालिकमाथि भएको तोडफोड केवल एउटा भौतिक संरचनामाथिको आक्रमण मात्र नभई नेपालको लोकतान्त्रिक इतिहास, राष्ट्रिय आदर्श, लोकतान्त्रिक मूल्य–मान्यता तथा वीपीले स्थापित गर्नुभएको राजनीतिक विचारमाथिको गम्भीर प्रहार हो,’ लामाले भने ।
उनले भने, ‘नेपाल तरुण दल केन्द्रीय कार्यसमिति उक्त घटनाको निष्पक्ष, गम्भीर तथा तत्काल छानबिन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । घटनामा संलग्न व्यक्तिको यथाशीघ्र पहिचान गरी तोडफोडको वास्तविक कारण सार्वजनिक गर्न तथा दोषीमाथि कानूनबमोजिम कडा कारबाही गर्न नेपाल तरुण दल केन्द्रीय कार्यसमिति जोडदार माग गर्दछ ।’
‘जननायक वीपी कोइरालाको विचार, आदर्श र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हुने कुनै पनि प्रहार कदापि स्वीकार्य हुन सक्दैन,’ तरुण दलका केन्द्रीय अध्यक्ष लामाले चेतावनी शैलीमा भनेका छन् ।
उता, नेविसंघकी अध्यक्ष मल्लले भनेकी छिन्, ‘नवलपुरको कावासोती नगरपालिका–२ स्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय अगाडि रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाको सालिकमा गरिएको तोडफोडको घटनाप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति गम्भीर आपत्ति प्रकट गर्दै घोर निन्दा गर्दछ ।’
‘जननायक वीपी कोइरालाको सालिकमाथि गरिएको यस्तो निन्दनीय कार्य कुनै निर्जीव संरचनामाथिको क्षति मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण इतिहास, राजनीतिक चेतना र राष्ट्रिय लोकतान्त्रिक विरासतप्रतिको अपमान हो,’ अध्यक्ष मल्लले भनेकी छिन्, ‘वीपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श नेपाली राजनीतिको अमूल्य धरोहर हुन् ।’
‘यस घटनालाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायले तत्काल घटनास्थलको अनुसन्धान तथा निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गर्न र दोषीलाई प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति जोडदार माग गर्दछ,’ नेविसंघ अध्यक्ष मल्लले भनेकी छिन् ।
‘लोकतन्त्रका अग्रदूत वीपी कोइरालाको विचार, योगदान र आदर्शमाथि हुने अपमानजनक गतिविधि स्वीकार्य हुन सक्दैन,’ उनले भनिन्, ‘लोकतान्त्रिक मूल्य, मान्यता र ऐतिहासिक धरोहरको संरक्षणका लागि नेपाल विद्यार्थी संघ सदैव सचेत, सजग र प्रतिबद्ध रहनेछ ।’
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आफूलाई सक्रिय बनाएको छ । उनीहरूले लोकतन्त्रको पक्षमा जबरजस्त गतिविधि गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया