बारामा रास्वपाका सांसद सहभागी कार्यक्रममा झडप, हानाहान हुँदा १० भन्दा धेरै घाइते
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारी सहभागी चियापन कार्यक्रममा दुई गुटबीच विवाद हुँदा झडप भएको छ ।
बिहीबार बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २३ भुलहीमा रास्वपाले छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा झडप हुँदा १० जनाभन्दा धेरै घाइते भएका छन् । रास्वपाका स्थानीय कार्यकर्ता असलम देवान र सुवा मन्सुरी समूहबीच विवाद भएको थियो ।
इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार कार्यक्रममा बोल्ने क्रममा शुरु भएको भनाभन व्यक्तिगत रिसइबी र आरोप प्रत्यारोप हुँदा कुटाकुटमा परिणत भएको थियो । झडपमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घाइतेहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २४ गण्डकस्थित हेल्केयर लगायतका अस्पतालमा उपचार भएको छ । उपचारका क्रममा पनि दुई समूहबीच पुनः विवाद भएको थियो ।
बारामा रास्वपाका कार्यकर्ताहरूबीच भएको झडपको प्रकरणसँग जिल्ला जिल्लामा रास्वपाभित्र ठूलो विवाद रहेको देखाएको छ । यस्ता विवादहरू अन्य जिल्लाहरूमा पनि क्रमशः देखिन थालेका छन् । तस्बिर सौजन्य न्यूज ब्यूरो नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया