देउवाको प्रश्न– १८ करोड भनेको छ, बा, सानो पैसा हो त्यो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित नेपाली कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी दिएको भनिएको बयानबारे धारणा सार्वजनिक गरेका हुन् ।

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’

सभापति देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले तत्कालीन समयमा कांग्रेसको आधिकारिकतामा आफ्नो ज्यानको खतरा रहेको कुरा बताएको आफूले सञ्चारमाध्यमबाट थाहा पाएको प्रसंग पनि सुनाए ।

‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालका थियौं हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है– मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ देउवाले भने, ‘तर, त्यो महिला चाँहि (आयुक्त जानकी तुलाधर) नडराउने, उ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त ।’

देउवाले आफू अहिले पनि कांग्रेसको सभापति भएकाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि बताए । ‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं ।’

Published : Saturday, 2026 November 7, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया