१८ करोड गगनको ट्रेलर हो, छानविन गरौं, प्रधानमन्त्री होइन अब जेलको चौकीदार बन्ने हो : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापामाथि लागेको १८ करोड रुपियाँको आर्थिक लेनदेनसम्बन्धी आरोप अनियमितताको ट्रेलर मात्रै भएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत उदयपुर जिल्लाको अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले गगन थापाद्वारा कांग्रेस हत्याउन गरिएको १८ करोडको डिल उनको अनियमितताको सुरुवात मात्रै भएको बताए ।
गगन थापाविरुद्ध आफूले सुरुदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पार्टीभित्र ठूलो पंक्ति आफ्नो पक्षमा लामबद्ध भएको बताए ।
‘गगनविरुद्ध बोल्ने पहिला म एक्लो थिएँ, अहिले पार्टीभित्र ठूलो पङ्क्ति लामबद्ध भएको छ,’ नेता बस्नेतले भने, ‘उहाँबाट कांग्रेस जोगाउनका खातिर १८ करोड रुपियाँको विषय आएको छ । मैले भनेँ, यो त ट्रेलर मात्रै हो । स्वास्थ्य मन्त्रालयको मात्रै कुरा बाँडफाँट निकाल्यो भने लामै कथा हुन्छ ।’
स्वास्थ्य मन्त्रालयको कार्यकालसमेत जोडेर छानबिन गर्ने हो भने गगन थापाबारे थप धेरै विषय बाहिर आउने नेता बस्नेतले चेतावनी दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले गगन थापामाथि नेपाली कांग्रेसप्रति गद्दारी गरेको बताएका छन् । गगन थापा प्रधानमन्त्री बन्न नसक्ने नेता बस्नेतले बताएका छन् ।
‘प्रधानमन्त्री होइन, उहाँ चाहनुभयो भने जेलको चौकीदार चाहिँ हुन सक्नुहुन्छ,’ नेता बस्नेतले भने ।
कांग्रेसको आधिकारिकता पाउन १८ करोडको डिल गरेको अभियोग लागेका गगन थापामाथि निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने नेता बस्नेतले माग गरेका छन् ।
नेता बस्नेतले सरकारले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनुभन्दा आरोपको सत्यतथ्य पत्ता लगाएर दोषी देखिएकामाथि कानूनी कारबाही गर्नुपर्ने बताएका छन् ।
‘गगन थापाजीको पनि छानबिन गर्नुस् । छानबिनको प्रक्रिया पूरा गरेर कारबाही गर्नुपर्छ कि गल्ती गरेको भए थुन्नुपर्छ,’ नेता बस्नेतले भने ।
गगन थापाका कारण नेपाली कांग्रेस विभाजन भइसकेको उनले बताएका छन् । पार्टीको आधिकारिकता आफूहरूले नै पाउने नेता बस्नेतले बताएका छन् ।
नेपाली कांग्रेसको कानूनी बैधता पाउन गगन थापाले बिचौलिया इनम सापकोटामार्फत् सर्वोच्च अदालत र निर्वाचन आयोगलाई मिलाएको अडियो सार्वजनिक भएपछि गगन थापा नाङ्गिएका छन् । १८ करोड काण्डको छानविन गर्न माग उठिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया