खोटाङ कांग्रेसको सभापतिमा युवा नेता रोजन राई सर्वसम्मत निर्वाचित

दिक्तेल । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत खोटाङ जिल्लामा मंगलबार सम्पन्न अधिवेशनले सभापतिमा राईलाई सर्वसम्मत निर्वाचित गरेको हो । पार्टीभित्रको आन्तरिक सहमति र समन्वयका आधारमा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको कांग्रेस नेता भूपेन्द्र राईले जानकारी दिए ।

जिल्ला अधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमितितर्फ पनि नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘१’ को क्षेत्रीय सभापतिमा उद्धव राई र प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’को क्षेत्रीय सभापतिमा सुनिलचन्द्र राई निर्वाचित भएका छन् । दुवै क्षेत्रमा पदाधिकारी तथा सदस्यहरू समेत चयन भएका छन् ।

अधिवेशनबाट जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरूका साथै पार्टीको नीति निर्माण तहमा प्रतिनिधित्व गर्ने केन्द्रीय महासमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिहरू समेत निर्वाचित भएको नेता राईले जानकारी दिएका छन् ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2026 November 4, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया