प्रधानमन्त्रीले आईजीपीको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने कुरा भ्रामक : सरकार
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामा प्रधानमन्त्री बालेन्द्र शाहले मागेको भन्ने हल्ला पूर्णतः भ्रामक र निराधार रहेको सरकारले स्पष्ट पारेको छ ।
सरकारको यो स्पष्टीकरणसँगै आईजीपी कार्कीको राजीनामा मागिएको वा उनलाई कारबाही गर्न लागिएको भन्ने समाचार र चर्चालाई सरकारले खण्डन गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी संगठनका आन्तरिक तथा संवेदनशील सूचनाहरू बाहिरिएको विषयमा प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्र गरेको बताए ।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ पोखरेलले भने, ‘यो सूचना कहाँबाट र कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो ।’
सरकार र नेपाल प्रहरीबीच विवाद उत्पन्न गराएर आफ्नो स्वार्थ पूरा गर्न चाहने तत्वले आईजीपी कार्कीविरुद्ध निरन्तर मिडियाबाजी र मिडिया ट्रायल गर्दै आएको छ । आईजीपी कार्कीविरुद्ध गतिविधि गरिरहेकै समूहले सरकारलाई पनि असर पार्ने गरेर मिडिया ट्रायल गरिरहेको छ ।
आफूलाई सबैभन्दा काबिल ठान्ने एकजना एआईजीले सरकार र नेपाल प्रहरीविरुद्ध मिडिया ट्रायल गरेर सम्बन्ध बिगार्ने गतिविधिमा लागेका छन् । ती एआईजीको बारेमा गृह मन्त्रालय र नेपाल प्रहरीको हेडक्वाटरले स्क्यान गरिसकेको छ । कुनै पनि बेला ती एआईजीलाई चेनअफ कमाण्ड तोडेको र अवाञ्छित गतिविधि गरेको अभिवयोगमा कारबाही हुन सक्ने सम्भावना छ ।
गृहमन्त्री सुधन गुरुङविरुद्ध तत्कालीन समयमा गतिविधि गरेर राजीनामा दिन बाध्य बनाएका ती एआईजी अहिले फेरि निरन्तर सरकार र नेपाल प्रहरीको सम्बन्ध बिगार्ने गरेर गोप्य सूचनाहरू चुहाउनेदेखि प्रधानमन्त्री शाह र प्रधानमन्त्रीको सचिवालयविरुद्ध समाचारहरू लेखाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया