विशेषवालाले कांग्रेसको आधिकारिकता पाउन १८ करोडको डिलबारे निष्पक्ष छानबिन गर्न देउवा पक्षको माग
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत् सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर डा.महतले तथाकथित विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत् सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन् ।
डा.महतले भने, ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी लिने र सोधपुछ गर्ने क्रममा कसले के भन्यो भन्ने विवरणहरू पनि बाहिर आइरहेका छन् । यी विषय निकै गम्भीर छन् ।’
डा.महतले भने, ‘त्यसैले यसको गहिराइसम्म पुगेर निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । सबै तथ्य र प्रमाणका आधारमा मात्रै निर्णय गरिनुपर्छ ।’
उनले कांग्रेसको आधिकारिकताका लागि निर्वाचन आयोग र अदालतमा भएको भनिएको चलखेलमा संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्ने पनि बताए । सरकारले गर्ने छानबिनमा आफूहरू विश्वस्त नभएको पनि नेता डा.महतले बताए ।
‘यो त सरकारले पनि ठीक ढंगले छानबिन गर्छ कि गर्दैन थाहा छैन । त्यसकारण संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्छ,’ उनले भने, ‘अधिकारको दुरुपयोग जहाँबाट भएको छ, त्यसको गहिराइमा जानुपर्छ । गहिराइसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’
डा.महतले गत पुसमा सम्पन्न तथाकथित विशेष महाधिवेशनलाई आधिकारिता दिने विषयमा निर्वाचन आयोगकै एक आयुक्तले तत्कालीन समयमा नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरेका छन् ।
‘निर्वाचन आयोगकै एक जना सदस्यले समेत विधि र नियम नमिलेको भन्दै नोट अफ डिसेन्ट राख्नुभएको थियो,’ नेता डा.महतले भने ।
निर्वाचन आयोगले तत्कालीन समयमा गरेको निर्णय गलत भएको डा.महतले उल्लेख गरेका छन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं कि तत्कालीन विशेष अधिवेशन विधि–प्रक्रिया मिचेर गरिएको थियो । त्यसबेला अधिवेशनमा यति ठूलो संख्यामा प्रतिनिधि उपस्थित थिए भनियो,’ उनले भने, ‘त्यसको प्रमाण र आधार नहेरी, हाम्रो पक्षको कुरा समेत नसुनी निर्वाचन आयोगले जुन हतारमा निर्णय ग¥यो, त्यो गलत थियो ।’
गगन थापाले नेपाली कांग्रेसको आधिकारिकता पाउनका लागि बिचौलिया इनम सापकोटामार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरूसँग १८ करोडको डिल तथा न्यायाधीश सारङ्गा सुवेदीलाई ३ करोड डिल गरेको भन्ने समाचारहरू प्रकाशित भएका बेला नेपाली कांग्रेस १५औं नियमित महाधिवेशत पक्षधरहरूले सो विषयको छानविन गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया