नयाँ पार्टीको सभापति स्वास्थ्यमन्त्री हुँदा उपकुलपति नियुक्ति र ठेक्काको घुसको हिसाब चाहियो : नेता सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापालाई नयाँ पार्टीको सभापति भन्दै तत्कालीन समयमा स्वास्थ्यमन्त्री भएका बेलाको घुस प्रकरणहरूको हिसाब किताब माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत् नेता सिंहले गगन थापाको नाम लिएका छैनन् । तर, सिंहले गगन थापालाई नयाँ पार्टीको सभापति भनेर सम्बोधन गरेका छन् ।

रास्वपाका नेता सिंहले गगन थापा तत्कालीन समयमा स्वास्थ्यमन्त्री बनेका बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तका बेला घुस लिएको आरोप लगाएका छन् ।

नेता सिंहले लेखेका छन्, ‘आज सुशासनको भाषण दिनेले पहिले आफ्नो स्वास्थ्यमन्त्री हुँदाको नियुक्ति, सिफारिस र ठेक्काको हिसाब जनतालाई दिनुपर्दैन ? नयाँ पार्टीका सभापति स्वास्थ्यमन्त्री हुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार नियुक्ति प्रकरणमा घुसको आरोप सार्वजनिक भएको थियो । पछि त्यही प्रतिष्ठानमा भवन निर्माण ठेक्कामा कमिसन प्रकरणसमेत बाहिरियो । अरूलाई प्रश्न गर्नुअघि आफ्नै कार्यकालको हिसाब दिनुहोस् ।’

तत्कालीन समयमा उपकुलपति डा.राजकुमार रौनियार नियुक्ति प्रकरणमा घुसको आरोप लागेपछि गगन थापा निकै विवादित बनेका थिए ।

बिचौलिया इनम सापकोटामार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरूसँग १८ करोड डिल गरेर नेपाली कांग्रेसको आधिकारिकता पाएको अडियो सार्वजनिक भएपछि गगन थापाले बिहीबार भिडियो सन्देश जारी गर्दै आफू कमजोर धरातलमा नउभिएको बताएका छन् । उनले आफ्ना हातहरू सफा रहेको बताएका हुन् ।

‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरा हातहरू सफा छन् । मेरा पक्षमा ढुक्कले बोल्नुहोस् ।’

इनम सापकोटाले नाम लिएको विषयमा गगन थापाले भने, ‘करोडको कुरा गर्छन् । नेपाली कांग्रेसको आधिकारिताको कानूनी लडाईँमा रुपियाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन ।’

गगन थापाको यो अभिव्यक्ति आएपछि रास्वपाका नेता एवम् सांसद सिंहले नयाँ पार्टीको सभापति भन्दै तत्कालीन समयमा गगन थापा स्वास्थ्यमन्त्री बनेका बेला गरेका काण्डहरू स्मरण गराइदिएका हुन् ।

Published : Thursday, 2026 November 5, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया