१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ, राजीनामा दिनुभएको छैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको नेपाली कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको बताए ।

देउवाले राजीनामा नदिएको अवस्थामा तथाकथित विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै बर्खास्त गर्ने अधिकार कसैलाई नभएको नेता सिंहले बताएका छन् ।

कांग्रेसको परम्परा र विधानअनुसार आफूहरू अघि बढिरहेको बताउँदै उनले तथाकथित विशेष महाधिवेशन गर्नेहरूले पार्टीको निर्वाचित सभापति र कार्यसमितिलाई हटाउने अधिकार कहाँबाट पाए भन्दै प्रश्न गरेका छन् ।

‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ । उहाँले राजीनामा दिनुभएको छैन,’ नेता सिंहले भने, ‘तथाकथित विशेष महाधिवेशन गर्नेहरूले पावर कहाँबाट पाए ? १४ औँ महाधिवेशनले निर्वाचित गरेको पार्टी सभापतिलाई बर्खास्त ग¥यो रे, त्यतिमात्र होइन, कार्यसमितिलाई पनि बर्खास्त ग¥यो । कहाँबाट उनीहरूले त्यो अधिकार पाए ?’

नेता सिंहले विधि र प्रक्रियाविपरीत हुने काममा साथ दिने प्रवृत्तिको आलोचना गर्दै त्यसको मूल्यांकन समाज र इतिहासले गर्ने बताए । राजनीतिक स्वार्थका लागि गलत काममा सहमति जनाउने प्रवृत्ति उचित नभएको उनले बताए ।

नेता सिंहले कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी निर्वाचन आयोगले एकतर्फी रूपमा गरेको निर्णय आफूहरूलाई मान्य नभएको बताएका छन् ।

निर्वाचन आयोग पूर्वाग्रही रहेको आरोप लगाउँदै उनले आयोगले गर्ने निर्वाचनमा सहभागी हुन नहुने सुझाव आफूले देउवालाई दिएको पनि बताए ।

‘नेपाली कांग्रेसको विधानलाई वास्ता नगरी, संविधानमा व्यवस्था भएको राजनीतिक दलसम्बन्धी कानूनलाई नमानी प्रक्रिया नअपनाइ एकतर्फी ढंगले निर्वाचन आयोगले गरेको निर्णय हामी मान्दैनौं,’ सिंहले भने, ‘पूर्वाग्रही निर्वाचन आयोगले गर्ने निर्वाचनमा हामीले भाग लिनु हुँदैन भनेर मैले सभापतिजीलाई भनेको थिएँ ।’

Published : Saturday, 2026 November 7, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया