गगनको कुरै नगरौं, तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व बढ्छ : संयोजक प्राडा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले गगन थापाको महत्व बढाउने काम नगर्न आग्रह गरेका छन् ।
शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रा.डा.कोइरालाले गगन थापालाई गाली गरेर महत्व नबढाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘अरुलाई कुरुप हेरेर आफू सुन्दर हुँदैन । हामीले गगन थापाजीलाई किन यति महत्व दिन्छौं ? तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा ग¥यो भने उसको महत्व बढ्छ ।’
चलचित्रमा नायकले भिलेनसँग मारकाट गरेको दृष्य स्मरण गर्दै प्रा.डा.कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गगन थापालाई भिलेनका रुपमा देखेको बताएका छन् । गगन थापा नभएर भिलेन गरिबी, अशिक्षा, बेरोजगारी भएको प्रा.डा.कोइरालाले बताए ।
‘हामी पनि कोही भिलेन खोजी रहेका छौं, त्यो भिलेन हामीले गगन थापालाई देख्यौं,’ संयोजक प्रा.डा.कोइरालाले भने, ‘त्यो हाम्रो भिलेन होइन । हाम्रो भिलेन भनेको यहाँको गरिबी, अशिक्षा, बेरोजगारी हो ।’
‘अधिवेशनले भविश्यलाई उजागर गर्छ । त्यसैले हाम्रो इतहिासमा अधिवेशन अत्यन्त महत्वपूर्ण कडी हो,’ प्रा.डा.कोइरालाले भने, ‘यो १५औं महाधिवशेन भनेको अत्यन्त महत्वपूर्ण हो । यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्दछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया