मालपोतका नायसुब्बाको साढे १५ करोडको सम्पत्ति, झण्डै १० करोडको स्रोत खुलेन, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन नायसुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सोमबार अख्तियारले आचार्यविरुद्ध ९ करोड ७२ लाखभन्दा बढी गैरकानूनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार प्रकरणमा आचायसँगै परिवारका सदस्य र अन्य व्यक्तिलाई समेत सजायको माग दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारमा परेको उजुरीमा अनुसन्धान हुँदा आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गर्दा भ्रष्टाचार पुष्टि भएको दाबी अदालतसमक्ष लिइएको छ ।
उनी र उनकी श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री आय, बैंक तथा बित्तीय संस्थाबाट ऋण कर्जा आय, बैना रकम फिर्ता आय, कृषि आय र व्याज आय गरी जम्मा ६ करोड २५ लाख ६३ हजार ३४५ रूपियाँ ४८ पैसा वैधानिक आय गरेको देखिएको छ ।
‘जाँच अवधिमा निजको व्ययतर्फ जग्गा खरिद, घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर भुक्तानी, पुँजीगत लाभकर भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोर प्रा.लि.मा लगानी, जग्गा खरिद बैना भुक्तानी विभिन्न व्यक्तिहरूलाई ऋण सापटी दिएको, सवारीसाधन खरिद, अध्ययन खर्च भुक्तानी, सेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण सापटी भुक्तानी, बैंक मौज्दात र फ्रिज दराज खरिद गरी जम्मा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपियाँ ३१ पैसाबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जाँच अवधिको कुल आयबाट व्यय घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रूपियाँ र ८३ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।
आचार्यले अन्य प्रतिवादीहरूसँगको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय माग दाबी छ । कैद र जरिबानासहित लुकाइछिपाइ राखिएको सम्पत्ति समेत जफत गर्न अख्तियारको माग छ ।
आचार्यकी पत्नी ललिता राजभण्डारीलाई पनि भ्रष्टाचारमा त्यति नै विगो मागदाबी छ । आचार्यको छोरी निलु र सरूलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको छ ।
कसूरजन्य कार्यको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियारमा संलग्न रहेको भन्दै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ बस्ने प्रभा बस्नेत र काठमाडौं महानगरपालिका– ३२, पेप्सीकोला बस्ने कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपियाँ विगो दाबी गर्दै सजायको माग छ ।
सम्पत्ति शुद्धीकरणमा आचार्य र उनकी पत्नी राजभण्डारीबाट भिन्नै ९ करोड १९ लाख ८४ हजार ५७६ रूपियाँ र १९ पैसा असुल गर्न अख्तियारको माग छ ।
सम्पत्ति शुद्धीकरण अर्का प्रतिवादी प्रभा बस्नेत र कुमारी कटुवालबाट ३८ लाख ८६ हजार १८२ रुपियाँ आठ पैसा असुल गर्न माग छ । सम्पत्ति जफत गरी सजाय गर्न समेत माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया