मलाई सभापतिमा निर्वाचित र दाङ कांग्रेसको अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद : सभापति शर्मा

घोराही । नेपाली कांग्रेस दाङका सभापति गोपालराज शर्माले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

सोमबार घोराहीमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शर्मालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । पदाधिकारी र सदस्यहरू पनि निर्वाचित गरिएको छ ।

अधिवेशनले आफूलाई सभापतिमा निर्वाचित गरिएको तथा अधिवेशन सफल बनाउन सहयोग गर्नेहरूप्रति शर्माले आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका हुन् ।

नवनिर्वाचित सभापति शर्माले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत आज सम्पन्न दाङ जिल्ला अधिवेशनबाट मलाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा निर्वाचित गराउन सहयोग, सद्भाव र विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण अग्रज नेतागण, प्रतिनिधिज्यूहरू, नेता तथा कार्यकर्ता एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

‘यहाँहरूले देखाउनुभएको विश्वासलाई आत्मसात् गर्दै पार्टीको संगठनलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउन प्रतिबद्ध रहनेछु,’ सभापति शर्माले भनेका छन् ।

‘यसै अधिवेशनबाट विभिन्न पदमा निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।

‘आगामी दिनमा पनि यहाँहरू सबैको निरन्तर साथ, सहयोग, सुझाव र समर्थनको अपेक्षा गर्दछु,’ नवनिर्वाचित दाङ कांग्रेसका सभापति शर्माले भने ।

Published : Monday, 2026 November 2, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया