काण्डै काण्डमा मुछिएकी शक्तिशाली आनी, तत्कालीन समयमा केपी ओलीको संरक्षण
काठमाडौं । विभिन्न काण्डै काण्डमा परेकी लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको विरोध हुँदासमेत टसकोमस भएकी छैनिन् ।
बौद्ध धर्मालम्बीहरूमा लोभ, लालच, ईष्या हुँदैन भन्ने मान्यता छ । तर, आनीमा देखिएको लोभ र लालचले बौद्धि धर्मालम्बीहरूकै शिर निहुराउने कार्य भएको भनेर टिकाटिप्पणीहरू भइरहेका छन् ।
आनी नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादले घेरिएकी छन् । आनीलाई कोषको उपाध्यक्षमा नियुक्ति गरेपछि नागरिकता र सम्पत्ति शुद्धीकरणको पुरानो विवाद सतहमा आएको छ । नागरिकताको विवाद र आनीले विगतमा पत्रकार जगदीश खरेल (हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद)सँगको अन्तर्वार्तामा आफू तिब्बतीय मूलको भएको र आफ्ना आमा र बुबा तिब्बतीयन भएको बताएकी छिन् । त्यो अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नो किताबमा पनि आनीले आफू तिब्बतीय मूलको भएको उल्लेख गरेकी छिन् । यति धेरै प्रमाण र तथ्य बहिर आउँदा समेत सरोकारवाला निकायले आनीको नागरिकताका विषयमा किन छानविन गर्दैन ? प्रश्न उठेको छ ।
आनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप २०७५ मै लागेको थियो । उनको नागरिकतामा २०७६ मा प्रश्न उठेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धानसमेत अघि बढाएको थियो ।
विभाग स्रोतका अनुसार त्यति बेलाको अनुसन्धान टुंगिएको छैन । उनको विषयमा अनुसन्धान तामेलीमा पनि छैन ।
आनीको नागरिकताका विषयमा पनि काठमाडौं प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभिलेख मागेको केही समयमै अनुसन्धान रोकिएको थियो । काठमाडौं प्रहरीमा त्यसबेला काम गरेका एक अधिकृतको दाबीमा त्यति बेला माथिल्लो तहबाट छानबिन अघि नबढाउन आदेश आएको थियो । यी दुवै विषय टुंगो नलगाई आनीलाई सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।
कोषमा नियुक्त भएपछि आनीले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ । आनीले कान्छाबहादुर लामालाई बुबा उल्लेख गरेर १८ जेठ २०४६ मा वंशजका आधारमा नागरिकता लिएकी थिइन् । ‘छोइङ डोल्मा मुक्तान लामा’का नाममा ३१४ नम्बरको नागरिकता लिएकी उनले २४ कात्तिक २०६६ मा फेरि प्रतिलिपिसमेत निकालेकी थिइन् । तर, पुस २०७६ मा डोल्माको नागरिकतामा बुबा भनिएका लामाका छोरा प्रमानसिंह लामाले छानबिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा ठाडो उजुरी दिएका थिए ।
काठमाडौं जिल्ला चपली भद्रकाली वडा नम्बर ६ मा बस्ने कान्छाबहादुर लामा २०३९ मा परलोक भएको र म कान्छाबहादुर लामाको छोरा प्रमानसिंह लामा (मगईं) लाई २०४६ मा आनी छोइङ डोल्माले कान्छाबहादुर लामाका नामबाट नागरिकता लिएको भन्ने कुरा सुन्दा अचम्म लागेको विषय उजुरीमा उल्लेख छ ।
प्रमानसिंह लामाको निवेदनलाई आधार बनाएर काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रहरी निरीक्षक यमलाल बन्जाडेले अनुसन्धानका सिलसिलामा बुझ्नुपर्ने भन्दै नागरिकताको प्रतिलिपि माग गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेका थिए । प्रशासनमा ‘प्रतिलिपि नागरिकताको फोटोकपी कार्यालयमा नरहने’ भन्दै नागरिकता जारी गर्दाको अभिलेख रजिस्टरको फोटोकपी १३ पुस २०७६ मा पठाइदिएको थियो । तर पछि यो छानबिन अघि बढेन ।
सन् २०११ मा प्रकाशित डोल्माको ‘फूलको आँखामा’ नामक आत्मकथामा बुबाआमा तिब्बतबाट आएको भन्ने उल्लेख छ । पहिले फ्रान्सेली भाषामा लिखित र पछि नेपालीमा अनूदित पुस्तकमा उनले आफू काठमाडौंको उत्तरपूर्वी बस्ती बौद्धमा जन्मिएको भनेकी छन् । यो ठाउँ ‘भोटबाट बाहिरिएकाहरूको नेपालस्थित सानो संसार प्रतीत हुने’ भनिएको छभने बुबाआमा १९५० को दशकको मध्यतिर थातथलो छाडेर आएको उल्लेख छ ।
‘तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिस्टहरूले आफूसामु नतमस्तक नहुनेहरूलाई मार्न र थुन्न सुरु गरेका बेला थियो त्यो,’ पुस्तकमा भनिएको छ, ‘बाआमा पूर्वतर्फ पर्ने खाम क्षेत्रबाट आउनुभएको भए पनि उहाँहरू बेग्लाबेग्लै गाउँका हुनुहुन्थ्यो ।’ आफन्तसहित बुबाआमा पहिले भारत पुगेको र त्यहीँ दुई जनाको भेट भएको उनले भनेकी छन् ।
डोल्माले आत्मकथामा नै बुबाआमा तिब्बतबाट आएको भनिसकेपछि कसरी वंशजका आधारमा नागरिकता दिइयो भन्ने प्रश्न उठेको छ ।
सम्पत्ति शुद्धीकरणको प्रश्न भने २५ वैशाख २०७५ मा तत्कालीन मेगा बैंक लिमिटेडको खाता नम्बर ००१…..३९४२४ मा आएको रकमको स्रोत नखुलेपछि उठेको हो । डोल्माको खातामा हङकङका नागरिकले २६ वैशाख २०७५ मा ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरेका थिए । त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरे । फेरि अर्को दिन ५ लाख २९ हजार ९ सय ८० डलर जम्मा भएको थियो ।
लगातार तीन दिनमा जम्मा भएको रकमको स्रोत नखुलेपछि राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले त्यही वर्ष साउनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विवरण पठाएको थियो । त्यसपछि विभागले डोल्माको खाता रोक्का राखी अनुसन्धान सुरु गरेको थियो । तत्कालीन समयमा हङकङबाट आनीको खातामा १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर आएको र त्यो शंकास्पद देखिएपछि अनुसन्धान सुरु भएको विवरण ‘कान्तिपुर दैनिक’ पत्रिकाले सार्वजनिक गरेको थियो ।
विभागमा त्यतिबेला जीवनप्रकाश सिटौला महानिर्देशक थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान नगर्न र खाता फुकुवा गर्न दबाब दिएका थिए । तर, सिटौलाले नमानेपछि उनको कोशी प्रदेश सरुवा भएको थियो ।
सामाजिक सञ्जालमा व्यापक प्रश्न उठेपछि भिडियो सन्देश जारी गरेकी आनीले नागरिकताबारे भने प्रस्ट जवाफ दिएकी छैनन् । अनावश्यक आरोप लगाएर आफूलाई बदनाम गर्न खोजिएको उनले बताएकी छिन् ।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्री कार्यालय मातहत लगेर राखेका थिए । रकम रोकिएको तीन महिनापछि साउन २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि आनीले एक करोड रुपियाँ सहयोग गरेकी थिइन् । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई आनीले सहयोग घोषणा गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया