विद्यालयको पुस्तकालयको १७ लाख हिनामिना गर्ने अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालयको अनुदानको रकम हिनामिना गर्ने तत्कालीन अध्यक्ष हरिचन्द्र जैसीसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले विशेष अदालत, काठमाडौंमा जाजरकोटको कुशे गाउँपालिका वडा नं. २ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको अनुदानको १७ लाखभन्दा धेरै रकम हिनामिना गरेको अभिगमा चार जनाविरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आ.व. २०७१/०७२ देखि आ.व. २०७३/०७४ सम्मको जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदान बापतको रकम विद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले सापटी लिएर फिर्ता गरेका थिएनन् । घटनाको अनुसन्धान हुँदा विद्यालयमा आ.व. २०७३/०७४ को जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदान बापतको रकम तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह, तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंह र तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसीले एकआपसमा मिलेमतो गरी सरकारी, सार्वजनिक संस्थालाई हानिनोक्सानी पु¥याउने बदनियतले कानून विपरीत ऋण सापटी लिएको देखाई विद्यालयको रकम गैरकानूनी रूपले मिलीजुली बाँडीचुँडी लिएको अख्तियारले जनाएको छ ।
विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसीलाई रू.१७ लाख ४१ हजार ४ सय ४६ रुपियाँ, सदस्य जनकबहादुर नेपालीलाई रू.१ लाख, तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंहलाई रू.१७ लाख ४१ हजार ४ सय ४६ रुपियाँ र पूर्व प्रधानाध्यापक धनबहादुर सिंहलाई रू.१७ लाख ४१ हजार ४ सय ४६ रुपियाँको बिगो कायम गरी रकम असुल उपर हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता न्यौपानेले प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया