गुल्मी कांग्रेसको अधिवेशन कात्तिक २० गते गर्ने, देउवा पक्षीय नेताहरू सहभागी हुने

तम्घास । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशन कात्तिक २० गते हुने भएको छ ।

तम्घासमा नेपाली कांग्रेस गुल्मी जिल्लाका संयोजक बेदबहादुर थापा मगरद्वारा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिअनुसार गुल्मी कांग्रेसको अधिवेशन कात्तिक २० गते भव्यताका साथ सम्पन्न गर्ने निर्णय भएको हो । अधिवेशन तम्घारमा हुनेछ ।

कात्तिक १४ गते क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन र १५ गते क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन समेत सम्पन्न गरिने संयोजक मगरले बताएका छन् ।

‘हामीले वीपी कोइरालाको लोक कल्याणकारी संकल्प पूरा गर्ने नेपाली कांग्रेस पार्टीको संगठन सुदृढीकरण र मजबुतीका सन्दर्भमा गुल्मी जिल्लाको अधिवेशन सम्पन्न गर्ने उद्घोष गरेका छौँ,’ प्रेस विज्ञप्तिमा संयोजक मगरले भनेका छन् ।

‘जनताको अधिकार स्थापित गर्नका लागि कांग्रेसको झण्डामुनि गोलबद्ध भई संघर्ष गर्दागर्दै शहादत प्राप्त गर्नुहुने महान शहीदहरूलाई स्मरण गर्दै प्रजातन्त्र र मानव अधिकारका पक्षमा सम्झौतारहित ढंगले अघि बढ्ने प्रणका साथ नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनमा जुटेका छौँ,’ संयोजक मगरले भने ।

‘कुनै पनि राजनीतिक दलको मुख्य विषय भनेको त्यसको राजनीतिक सिद्धान्त र अडान नै हो,’ संयोजक मगरले भने, ‘आज हामी यो नियमित महाधिवेशनको सन्दर्भ र विशेषताका बारेमा प्रकाश पार्न चाहन्छौँ ।’

‘नेपाली जनताको अधिकारका लागि स्थापनाकालदेखि नै लड्दै आएको एक राष्ट्रवादी र लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई कमजोर बनाउनका निम्ति नेपाली कांग्रेस पार्टीमाथि प्रहार गरिएको कुरालाई हामीले राम्रोसँग बुझेका छौँ,’ संयोजक मगरले भने ।

‘नेपाली कांग्रेसको नेतृत्व र अधिवेशनको आधिकारिकताको प्रश्न आज सर्वोच्च अदालतमा विचाराधीन बनाइएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको ऐतिहासिक विरासत, मूल जिम्मेवारी र पार्टीको स्वाभाविक विधि र प्रक्रियाका हिसाबले नियमित महाधिवेशन नै पार्टीको आधिकारिक मूल प्रभाव भएको कुरा उद्घोष गर्दछौँ ।’

Published : Wednesday, 2026 October 28, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया