विवादित आनीको नागरिकता र आर्थिक कारोबारबारे प्रश्न उठ्यो, जवाफ चाहियो : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोष जस्तो राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाको विवादास्पद नियुक्ति सच्याउनुको साटो धरपकड गरेको भन्दै सरकारको भर्त्सना गरेका छन् ।
मंगलबार महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत् भने, ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड ! त्यो पनि मध्यरातमै !’
‘अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ! सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिदैन,’ महामन्त्री पौडेलले भनेका छन् ।
‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो,’ उनले भने, ‘यस्तो महत्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त हुँदैन ।’
‘योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता पनि हेर्नैपर्छ,’ नेता पौडेलले भने ।
‘आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन्,’ कांग्रेस महामन्त्री पौडेलले भने, ‘ती प्रश्नको जवाफबिना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ ।’
‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ,’ उनले भने, ‘रातिराति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ । गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन ।’
विवादास्पद व्यक्ति आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा झण्डै दुईतिहाइको सरकारले दशैंको मुखमा नियुक्त गरेपछि सरोकारवालाहरूले विरोध गरिरहेका छन् ।
लुम्बिनी बचाउन महाअभियानले आनीको नियुक्तिको विरोध गर्दै निरन्तर सडकमा प्रदर्शन गरिरहेको छ । सोमबार राति महाअभियानका संयोजक अक्राम खान र वाजिउद्दिन मुसलमानलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । उनीहरूको पक्राउको विरोधमा दिनभरि सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतमा निरन्तर आलोचना भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया