हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ ।

फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन् । उनीहरूसँगै अर्की युवती पनि देखिएकी छिन् ।

शिव शर्माको ९ अक्टोबरमा लखनउको हजरतगंज क्षेत्रस्थित एक अपार्टमेन्टको चौथो तलाको कौसीबाट खसेपछि मृत्यु भएको थियो । उनको मृत्युको घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शिवकी आमा रञ्जना शर्माले श्रद्धा दुबे र अन्य व्यक्तिविरुद्ध हत्या गरेको आरोप लगाउँदै उजुरी दिएकी छिन् । उनले शिवलाई कुटपिट गरेर कौसीबाट खसालिएको आरोप लगाएकी छिन् ।

घटनापछि श्रद्धा दुबे, उनकी बहिनी रश्मी दुबे र चालक दानिशलाई महाराष्ट्रको नागपुरबाट पक्राउ गरिएको थियो । उनीहरूलाई लखनउ ल्याएर प्रहरीले सोधपुछ गरिरहेको छ । उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए ? कसले सहयोग गरेको थियो ? भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूबाट बरामद मोबाइल फोन र अन्य सामान फोरेन्सिक परीक्षणका लागि पठाएको जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको गतिविधि र घटनासँग सम्बन्धित अन्य प्रमाण संकलन गरिरहेको छ ।

यसअघि श्रद्धाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै शिवले आफैं कौसीबाट हाम फालेको दाबी गरेकी थिइन् ।

श्रद्धाले शिवमाथि १५ देखि २० लाख भारतीय रुपियाँ ऋण रहेको र ऋणका कारण उनी मानसिक दबाबमा रहेको बताएकी छिन् । शिवकी आमाले भने आफ्नो छोरा ऋणमा नरहेको र उनको मृत्युमा श्रद्धाको भूमिका रहेको आरोप लगाएकी छिन् ।

प्रहरीले शिवको मृत्युको वास्तविक कारण पत्ता लगाउन विभिन्न प्रमाणको अध्ययन गरिरहेको जनाएको छ ।

Published : Sunday, 2026 October 25, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया