कट्टेलको गीति एल्बम ‘गन्तव्य’ लोकार्पण
काठमाडौं । गीतकार वल्लभ कट्टेलद्वारा लिखित गीति एल्बम ‘गन्तव्य’ तथा यसमा समावेश शीर्ष गीत ‘हाम्रो यात्राको गन्तव्य’को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ ।
गीतकार संघ नेपालको आयोजनामा शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा एल्बम तथा शीर्ष गीतको भिडियो लोकार्पण गरिएको हो ।
पूर्वमन्त्री, प्रतिष्ठित कवि तथा गीतकार एवं गीतकार संघ नेपालका सल्लाहकार एस्पी कोइरालाको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष बसन्त वित्यासी थापाको सभाध्यक्षतामा उक्त कृतिको लोकर्पाण गरिएको छ । कोइरालालगायत उपस्थित अतिथिहरूले सामूहिक रूपमा एल्बम तथा गीतको श्रव्यदृश्य सामग्री लोकार्पण गरेका छन् ।
नेपाली गीत–संगीत, साहित्य तथा सञ्चार क्षेत्रका स्रष्टा, संगीतकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
लोकार्पण समारोहमा गीतकार वल्लभ कट्टेलले आफ्नो सिर्जना यात्रा र ‘गन्तव्य’ एल्बम निर्माणको पृष्ठभूमिबारे धारणा राखेका छन् । संगीतकार शंकर थापा ‘स्माइल’ले एल्बमका गीतहरूको संगीत पक्षबारे प्रकाश पारेका छन् ।
वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले एल्बम तथा गीतकार कट्टेलका सिर्जनाबारे समीक्षा गर्दै गीत–संगीतको साहित्यिक र भावनात्मक पक्षमाथि चर्चा गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ, ओहायो, अमेरिकाका प्रमुख संरक्षक डा. ज्ञानेन्द्र गदाल तथा गीतकार संघ नेपालका पूर्वअध्यक्ष चूडामणि देवकोटाले शुभकामना मन्तव्य दिएका छन् ।
सांगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान, नारायण गोपाल संगीत कोष तथा तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आतिथ्यता गरेका थिए ।
प्रा.डा. मदन कोइराला, पर्सा जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसी, संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था ‘रनभ्यान’का अध्यक्ष विष्णुगोपाल खत्री, वरिष्ठ संगीतकार तथा कवि गोपालकुमार मैनाली (गाउँले) लगायत देशका विविध क्षेत्रका प्रतिष्ठित र स्थापित व्यक्तित्वहरूकोे सहभागिता रहेको थियो ।
गायिका प्राश्ना शाक्य, निशा देसार, मनमाया पंगेनी, बरिष्ठ गीतकार अम्बिका गुरुङ, भरत बमजन, हरिराम पौडेल, रामेश्वर केसी, रबिन्द्र आशिष शैली, सञ्चारकर्मी हेम सुवेदी, सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, राजु बोहरा, प्रकाश बराइली अभिव्यक्ति, सबिता पोखरेल, आकृती घिमिरे लगायत कलाकार उपस्थिति रहेको थियो ।
भिडियोको निर्देशन तथा सम्पादन युवराज अधिकारीले गरेका छन् । मनोज वि.के. र पूजा जिसीले अभिनय गरेका छन् । सार्वजनिक गीतहरूमा गायक–गायिका अञ्जु पन्त, जगदीश समाल, प्रविन बेडवाल, सुरेश लामा तथा इस्माइल दासको स्वर रहेको छ । एल्बमका निर्माता सैलु केसी हुन् । प्रस्तुतकर्ता आदिम कट्टेल रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया