धरानमा गुञ्जियो ९० को दशकका संगीत
धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ ।
धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा ९० को दशकमा लोकप्रिय रहेका गीत तथा संगीत प्रस्तुत गर्दै कलाकारहरूले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्काएका थिए ।
कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले सम्झनाहरूलाई अंगाल्दै, ‘बिर्सिएका यादहरू’, ‘म सधैं लाई’, ‘घुम्दै आउनू धरान बजार’, ‘चिपुगुच्चा लगायतका चर्चित गीत प्रस्तुत गरे । उनका प्रस्तुतिमा दर्शकहरूले गीतसँगै गाएर तथा नाचेर साथ दिएका छन् ।
जेलर्स ब्यान्डका मनोज मोते ले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’, ‘भेडेटार’ लगायतका गीत प्रस्तुत गरे । रोहित मास्केले ‘दिउँला त्यो जवानी’, ‘मेरी मायालु’, ‘चिसो चिसो’, ‘मर्छु कि क्या हो’ जस्ता आफ्ना चर्चित गीतमार्फत दर्शकलाई झुमाए ।
ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्यो’, पूर्णिमाको जुनेली रात र उमेरले नौ डाँडा काटेछ’ लगायतका चर्चित गीत प्रस्तुत गरेका छन् ।
कलाकारहरूले आफ्ना पुराना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरूले समेत गीतसँगै गाएर र नाचेर भरपूर मनोरञ्जन लिएका छन् । ९० को दशकको संगीतसँग जोडिएको पुस्ताका दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमभर दर्शकहरूले कलाकारका प्रस्तुतिमा उत्साहपूर्वक साथ दिएका थिए । कार्यक्रमकै अवसरमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई उनको लामो सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ संगीतकर्मी रोशन शर्मा तथा कार्यक्रमका कलाकारहरू मनोज मोते , रोहित मास्के र दिलु राईले संयुक्त रूपमा खादा तथा सम्मानपत्र प्रदान गर्दै लामालाई सम्मान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले आफ्ना पुराना सहकर्मी तथा जेलर्स ब्यान्डका गायक मनोज मोतेलाई ट्रफी तथा नगदसहित सम्मान गरे । लामाले मोतेको सांगीतिक योगदानको कदर गर्दै व्यक्तिगत रूपमा सम्मान गरेका हुन् ।
सम्मानपछि सञ्जीव लामा र मनोज मोतेले संयुक्त रूपमा ‘मुसु मुसु हाँसी देऊ’ गीत प्रस्तुत गर्दै कार्यक्रमको समापन गरे । लामो समयपछि एउटै मञ्चमा देखिएका दुई पुराना सहकर्मी कलाकारले संयुक्त प्रस्तुति दिँदा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए । उनीहरूको प्रस्तुतिसँगै ९० को दशकका चर्चित गीत–संगीतलाई केन्द्रमा राखेर आयोजना गरिएको ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन गोविन्द राजभण्डारीले गरेका थिए ।
९० को दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई पुनः दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले पुरानो पुस्ताको सांगीतिक सम्झनालाई ताजा बनाउनुका साथै नयाँ पुस्तालाई समेत त्यसबेलाको संगीतसँग जोड्ने प्रयास गरेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।
सिल्भर इन्टरटेनमेन्टका अनुसार ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’पछि पूर्वी नेपालका विभिन्न शहरमा समेत यस्तै सांगीतिक टुर आयोजना गर्ने तयारी भइरहेको छ । ९० को दशकका चर्चित गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखेर आयोजना गरिने उक्त टुरमार्फत पुराना लोकप्रिय गीत–संगीतलाई नयाँ पुस्तामाझ समेत पुर्याउने योजना रहेको आयोजकले जनाएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया