बाँच्न पाउने अधिकार माग गर्दै दीपक भट्टका पिताद्वारा आयोगकोमा निवेदन दर्ता
काठमाडौं । व्यवसायी दीपक भट्ट लामो समयदेखि पुर्पक्षका लागि कारागार चलान भएका बेला उनको पिता चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगसँग सम्मानपूर्वक बाँच्न पाउने अधिकारको माग गरेका छन् ।
शुक्रबार आयोगसमक्ष पिता चर्तुभुज भट्टले छोराको मानव अधिकारको रक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन् । उनले भनेका छन्, ‘मेरो छोरा दीपक भट्टको मानव अधिकार, संविधान प्रदत्त मौलिक हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग, पुल्चोकमा निवेदन दर्ता गराएको छु ।’
‘मेरो छोरा दीपक भट्टविरुद्ध विभिन्न अदालतमा मुद्दाहरू विचाराधीन रहेको अवस्थामा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा निजलाई दोषिका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र निजको सामाजिक प्रतिष्ठामा आघात पु¥याउने र न्यायलयलाई प्रभावित पारि निष्पक्ष न्याय पाउने अधिकारमा अवरोध गर्ने प्रकृतिका समाचार तथा सामग्रीहरू प्रकाशित तथा प्रसारित भइरहेका छन्,’ पिता भट्टले भनेका छन् ।
‘विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति छ,’ निवेदनमा भनिएको छ, ‘पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले गर्दै नगरेको कार्यलाई सत्य जस्तो बनाई प्रकाशन गरिएको सामाग्रीले निजको प्रतिष्ठामा मात्रै आघात पु¥याइएको छैन्, सम्मानित न्यायलयबाट न्याय पाउने अधिकारमा समेत अवरोध सिर्जना गरेको छ ।’
‘मिति २०८३ असोज १७ गते मेरो छोरालाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको छ,’ पिता भट्टले निवेदनमा भनेका छन्, ‘निजविरुद्धका मुद्दाहरू काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेका र न्यायिक प्रक्रिया जारी रहेको अवस्थामा सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे कुनै जानकारी नै दिइएको छैन। मुद्दा नै दायर नभएको जिल्लास्थित कारागारमा गरिएको उक्त सरुवाले सरुवाको औचित्य, आवश्यकता र त्यसको आधारबारे गम्भीर प्रश्न खडा गरेको छ ।’
‘यसबाट विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने तथा परिवारले भोग्नु परेको मानसिक पीडा थप बढ्ने अवस्था सिर्जना भएको छ,’ निवेदनमा उल्लेख छ ।
‘मेरो छोरा दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार र कारण तथा निज नख्खु कारागारमा हुँदाको आचरणका विषयमा समेत जानकारी माग गर्दै नख्खु कारागार तथा कारागार व्यवस्था विभागमा समेत निवेदन दर्ता गरेको छु,’ पिता भट्टले भने, ‘हालसम्म कुनै जानकारी प्राप्त भएको छैन् ।’
‘कारागारबाट फोन गरेको लगायतका गलत समाचार प्रकाशन गरेका सञ्चार माध्यम तथा प्रेस काउन्सिल नेपालमा नेपालको संविधारको धारा १९ अनुसार सञ्चारको हक प्रयोग गर्दा प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ (संशोधन सहित २०७६) बमोजिम कार्य भएको सुनिश्चिता गर्न अनुरोध गर्दै निवेदन दिएको छु,’ निवेदनमा भनिएको छ ।
‘प्रेस काउन्सिल नेपालले कानून बमोजिम आवश्यक कार्य गर्ने विश्वास लिएको छु,’ दीपक भट्टका पिताले आयोगमा दिएको निवेदनमा भनेका छन् ।
‘राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता गरिएको निवेदनमार्फत सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामाग्रीको सत्यतथ्य छानविन गर्न, कारागार सरुवाको निर्णय, आधार, कारण तथा सम्बन्धित कागजातहरूको अध्ययन गर्न, आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न र मेरो छोराको मानव अधिकार तथा संविधान प्रदत्त मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरेको छु,’ निवेदनमा भनिएको छ ।
‘कारागार सरुवाको औचित्यसमेत विचार गरी निजलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन माग गरेको छु,’ पिता भट्टले भने ।
‘म कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध चाहन्नँ । मैले केवल सत्यतथ्यको निष्पक्ष छानविन, कानूनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोकथाम तथा मेरो छोरा दीपक भट्टको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि निवेदन दिएको हुँ,’ पिता भट्टको निवेदनमा उल्लेख छ ।
व्यवसायी दीपक भट्टलाई विभिन्न मुद्दा र अभियोग लगाएर पुर्पक्षका लागि जेल चलान गरिएको छ । दीपक भट्टलाई पछिल्लो समय पूर्व प्रधान न्यायाधीश चालेन्द्रशम्शेर जबरासहितका विभिन्न व्यक्तिहरूसँग जोडेर समाचारहरू प्रकाशित भइरहेका छन् । यस्तो बेला अन्याय भएको भन्दै थुनामा रहेका छोराको सहयोगका लागि पिताले राष्ट्रिय मानव अधिकार आयोगको सहारा लिएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया