कांग्रेसको अधिवेशनका लागि देउवा पक्षद्वारा सिन्धुपाल्चोकमा सम्पर्क कार्यालय स्थापना
बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला संयोजक लालकाजी तामाङले सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
मंगलबार संयोजक तामाङले सभापति शेरबहादुर देउवा पक्षको सिन्धुपाल्चोकमा १५औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरेका हुन् । कांग्रेसका जिल्ला संयोजक तामाङले बलेफी गाउँपालिका–८ खाडीचौर बजारमा सम्पर्क कार्यालय स्थापना गरेर अधिवेशनको तयारी तीव्र बनाएका हुन् ।
सम्पर्क कार्यालयको उद्घाटन जिल्ला संयोजक तामाङले बाजागाजासहित गरेका हुन् । आगामी वडा अधिवेशनको तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा जिल्लामा पार्टीका गतिविधि सञ्चालन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको तामाङले बताए ।
देउवा पक्षले सिन्धुपाल्चोकमा महाधिवेशन तयारीको जिम्मेवारी तामाङलाई दिएको छ । तामाङका अनुसार यही सम्पर्क कार्यालयबाट असोज १६ गते हुने वडा अधिवेशनको तयारी अघि बढाइनेछ । देउवा पक्षले देशभर छुट्टै कार्यतालिकाअनुसार वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ ।
कार्यालय उद्घाटनका क्रममा तामाङले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने दाबी गर्दै नेता तथा कार्यकर्तालाई अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला भएकाले देउवा पक्षले सिन्धुपाल्चोकमा अघि बढाएको समानान्तर अधिवेशन तयारीलाई चासोका साथ हेरिएको छ ।
जिल्लामा स्थापना गरिएको नयाँ सम्पर्क कार्यालयले आगामी वडा अधिवेशनमा देउवा पक्षको संगठनात्मक सक्रियता कति प्रभावकारी हुन्छ भन्ने परीक्षणसमेत गर्नेछ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया